अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता : नेपाल र म्यानमार एक खेलअगावै फाइनलमा
काठमाडौं । नेपाल र म्यानमार एक खेल खेल्नुअगावै फोर नेसन्स अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा बिहीबार सम्पन्न भएको खेलमा नेपालले लेबनानमाथि १-० को जित निकालेपछि फाइनलमा स्थान पक्का गरेको भने कीर्गिस्तानलाई ५(० गोलले हराउँदै म्यानमार फाइनलमा प्रवेश गरेको हो ।
नेपालको जितमा पहिलो हाफमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो । ४२औं मिनेटमा सावित्रा भण्डारी साम्बाको प्रहार लेबनानी खेलाडी फराहलाई डिफ्लेक्ट भएर गोल भएको थियो । यीबाहेक दुवै टोलीले गोल गर्ने थुप्रै अवसरहरू सदुपयोग गर्न सकेनन् ।
खेलको शुरुवातीदेखि नै खेल नेपालको कब्जामा थियो । तर, पटकपटक अवसर पाउँदा पनि नेपाली खेलाडी गोल गर्न असमर्थ बने । १०औं मिनेटमा क्रिस्टी मालोफको प्रहार एन्जिलाले बचाइन् । ११औं मिनेटमा बिमलाले गरेको प्रहार पोस्टमाथिबाट बाहिरियो । १३औं मिनेटमा लैला इस्कन्दरले दुईपटक गोलरक्षक बिट गरिसकेको अवस्थामा गोल गर्न चुकिन् । १५औं मिनेटमा प्रीति राईको प्रहार पोस्टको केही माथिबाट बाहिरियो ।
१७औं मिनेटमा रेखा पौडेलले सबिता रानामगरको क्रसमा हेडर मिस गरेकी थिइन् । २३औं मिनेटमा साम्बाको प्रहार पोस्टको वाइड गयो । २६औं मिनेटमा बिमला चौधरीको हेडर फितलो रहँदा लगत्तै ओपन चान्समा रेखाले बल भेटाउन सकिनन् । त्यसलगत्तै फेरि साम्बाको प्रहारले पोस्टको दिशा लिन सकेन । यस्तै ३१औं, ३७औं, दोस्रो हाफको ५९औं, ८६औं मिनेटमा नेपालले पाएको गोल गर्ने सुन्दर अवसर गुमाएको थियो ।
यता, आजै भएको अर्काे खेलमा म्यानमार फाइनलमा प्रवेश गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा कीर्गिस्तानलाई ५(० गोल अन्तरले पराजित गर्दै म्यानमार एक खेल अगावै प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।
म्यानमारलाई जित दिलाउन योन वादी र मे हिइत लुले दुई(दुई गोल गरिन् भने सानदार लिनले एक गोल गरिन् । योनले दोस्रो मिनेटमै म्यानमारलाई आग्रता दिलाएकी थिइन् । सानदार लिनले खेलको ३०औं मिनेटमा गोल गरिन् । त्यस्तै खेलको ३६ औ मिनेटमा मे हिइत लुले गोल गरिन् भने पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा योनले व्यक्तिगत दोस्रो गरिन् । त्यस्तै दोस्रो हाफको ४९औं मिनेटमा मे हिइत लुले अर्को गोल गरेकी थिइन् ।
यसअघि पहिलो खेलमा म्यानमारले लेबनानलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो । पराजित कीर्गिस्तान उपाधि होडबाट बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा पनि नेपाल र म्यानमार नै खेल्ने छन् भने फाइनल पनि यिनै दुई टोलीको बिचमा हुनेछ ।









प्रतिकृया दिनुहोस