अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : नेपालको कमजोर प्रतिद्धन्द्धी, जित कठिन (फोटो फिचर)

काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले कठिन जित शुरुवात गरेको छ ।
दशरथ रंगशालामा आज भएको फोर नेसन्स कपमा किर्गिस्तानलाई १–० ले हराएको छ । ६ वर्षअघि उसैको मैदानमा ८–२ को सानदार जित निकालेको नेपाललाई किर्गिस्तानले ६ वर्षपछि भने दशरथ रंगशालमै टक्कर दियो । अब नेपालले प्रतियोगिताको आफ्नो दोस्रो खेलमा लेबनानको सामना गर्नेछ ।
कमजोर मानिएको प्रतिद्वन्द्वी किर्गिस्तानसँग मैदानमा नेपाली खेलाडीले एकभन्दा बढी ‘सेलिब्रेसन’ देख्न पाइने अपेक्षा थियो । तर, मैदानमा त्यस्तो भएन । नेपाल १–० को नतिजामै चित्त बुझायो । खेल पूर्णतः नेपालको नियन्त्रणमा रहे पनि गोलका लागि संघर्षरत रहेको थियो ।
नेपालमा पहिलोपटक आयोजना भएको चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पहिलो खेल जिते पनि बाँकी खेलमा नेपालले निकै मिहिनेत गर्नुपर्ने देखिएको छ ।
खेलको १०औं मिनेटमै विमला चौधरीको गोलबाट नेपालले अग्रता लिएको थियो । खेल अवधीभर विपक्षीमाथि दबाब पनि बनाएको थियो । जसले गर्दा नेपालले गोल थप्ने अनुमान गरिएको थियो । तर फिनसिङमा नेपाल चुक्यो ।
किर्गिज डिफेन्डरले नेपालको अट्याकलाई बारम्बार रोके । फ्रान्सबाट फर्किएकी सावित्रा भण्डारी दोस्रो हाफमा मैदान प्रवेश गरे पनि कमाल देखाउन सकिनन् । रेखा पौडेलको प्रदर्शन पनि प्रभावशाली हुन सकेन । पहिलो हाफको अन्त्यमा पाएको सुन्दर अवसर नेपालमा परिणत हुन सकेन । रश्मी घिसिङको प्रहार बारमा लागेर फर्कंदा रिबाउन्डमा सविता रानामगरको प्रहार पनि बारमा लागेको थियो ।
दोस्रो हाफको ८१औं मिनेटमा सविता रानामगरको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । इन्जुरी समयमा सावित्राले पोस्ट नजिकैको मौका गुमाउँदा त्यसको केही समयमै किर्गिस्तानले फ्रिकिक पाउँदा पोस्टको केही माथिबाट गयो ।
अर्को खेलमा म्यानमार र किर्गिस्तान भिड्ने छन् । पहिलो दिनको खेलपछि चार टिम सम्मिलित प्रतियोगितामा म्यानमार र नेपाल समान तीन अंकमा शीर्ष दुई स्थानमा रहे । दिनको पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ ले पराजित गरेको थियो । किर्गिस्तान र म्यानमार दुवै अंकविहीन स्थितिमा रहे ।
प्रतिकृया दिनुहोस