एनपीएलको उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै, विजेताले १ करोड १० लाख पाउने
काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल मध्यान्ह १२ बजेपछि सुरु हुनेछ । एनपीएलको लिग चरणदेखि क्वालिफायरसम्म ३१ खेल सम्पन्न भइसकेका छन् । ३२ औँ खेलमा आएर एनपीएलको उपाधि छिनोफानो हुँदैछ ।
एनपीएलको सुरुवातमा दुवै टोलीले लगातार समान चार खेलमा विजयी भएपछि नै सुदूरपश्चिम र जनकपुरलाई उपाधि दाबेदारका रुपमा हेरिएको थियो । अन्ततः यी दुई टोली नै उपाधिका लागि भिड्ने भएका छन् ।
सुदूरपश्चिमले लिगचरणमा एक मात्रै पराजय व्यहोरेको थियो भने जनकपुर दुई खेलमा पराजित भएको थियो । सुदूरपश्चिम अहिलेसम्म एक खेलमा मात्रै पराजित छ । तर जनकपुर लिगचरणमा दुई र क्वालिफायरमा एक गरी तीन खेलमा पराजित भएको छ । दुवै टोली चितवनसँग पराजित भएका थिए। जनकपुरले बाँकी दुई खेल सुदूरपश्चिमसँगै हारेको छ ।
आज हुने खेल हेर्न लागि सबै टिकट विक्री भईसकेको छ । नेपाल क्रिकेट संघका सचिव पारस खड्काले पनि टिकट विक्रि भइसकेकाले टिकट नपाउनेलाई फाइनल खेल घरमै बसेर हेर्न आग्रह गरेका छन् । आगामी दिनमा स्टेडियमको क्षमता बढाउने पनि पारसले बताएका छन् ।
एनपीएल विजेताले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । त्यसैगरी उपविजेताले ५१ लाख, तेस्रो स्थानमा रहने टिमले २५ लाख र चौथो स्थानमा रहने टिमले १५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।
प्रतिकृया दिनुहोस