एनपीएलमा कर्णालीको धमाका, पोखरा एभेन्जर्सलाई पराजित गर्दै कर्णालीको लगातार तेस्रो जित
काठमाडौं । विलियम बोसिस्टोले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमै उत्कृष्ट बलिङ गरेपछि कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको छ ।
बोसिस्टोले ६ विकेट लिएपछि टस जितेर ब्याटिङ रोजेको पोखरा १६।३ ओभरमा १ सय ३ रनमा अलआउट भएको थियो । कर्णालीले १५ ओभरमै १ सय ६ रन बनाउँदै लक्ष्य पूरा गर्यो । पहिलो दुई खेल हारेको कर्णालीले लगातार तीन खेल जितेर प्ले अफ पुग्ने सम्भावनालाई कायमै राखेको छ । पोखराको भने ४ खेलमा यो तेस्रो हार हो ।
पोखराका लागि विपिन खत्रीले पहिलो ओभरमै देव खनाललाई शून्यमा एलबीडब्लू आउट गरे । अर्का देब्रेहाते स्पिनर सागर ढकालले बाबर हायतलाई ७ रनमा बोल्ड गरे । चाडिविक वाल्टन र गुलसन झाले त्यसपछि तेस्रो विकेटमा ६० रनको साझेदारी गरेपछि कर्णाली विजयतिर लम्किएको थियो । जमैकन ब्याटर वाल्टनले ३४ बल खेली ६ चौका र १ छक्कासहित ४२ रन बनाए ।
गुलसनले अविजित ४९ रन बनाए । उनले ३७ बल खेली ३ चौका र ४ छक्का प्रहार गरे । गुलसनले विजयी रनस्वरूप छक्का प्रहार गरेका थिए । सागर ढकालको चौथो एवं टिमको १५ औं ओभरमा कर्णालीले २१ रन जोडेको थियो, जसमा गुलसनले २ छक्का र १ चौकासहित २० रन जोडेका थिए । सागरले पहिलो ३ ओभरमा ३ रनमात्र दिएका थिए ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिनेश खरेल र आन्द्रिज गाउसले ४ ओभरभित्र ४६ रन जोडेर पोखरालाई निकै राम्रो सुरुआत दिलाएका थिए । तर विपिन शर्माले गाउसलाई २५ रनमा आउट गरेपछि पोखरा सम्हालिन सकेन । गाउसले १२ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर दिनेशले १९ बल खेली ४ चौका र १ छक्कासहित २६ रन बनाए ।
बोसिस्टोले कप्तान कुशल भूर्तेललाई १० रनमा कट एन्ड बोल्ड गरी पोखराको तेस्रो विकेट झारेर आफ्नो विकेट लिन सुरु गरेका थिए । त्यसपछि म्याट क्रिच्लेलाई शून्य, दिलीप नाथलाई ३, माइकल लिसाकलाई २, नारायण जोशीलाई १, रेयमन रिफरलाई २० रनमा आउट गरे । २६ बल खेलेका रिफरले कुनै बाउन्ड्री प्रहार गर्न सकेनन् । बोसिस्टोको सानदार स्पेलपछि पोखराले २२ रनमा आफ्नो पछिल्लो सात विकेट गुमाएको थियो ।
अस्ट्रेलियन अलराउन्डर बोसिस्टोले ६ विकेट लिने क्रममा ४ ओभरमा २८ रन खर्चेका थिए । जारी एनपीएलमा यो सबैभन्दा उत्कृष्ट बलिङ हो । यसअघि चितवन राइनोजका सोहेल तनवीर, सुदूरपश्चिम रोयल्सका नरेन साउद र जनकपुर बोल्ट्सका हर्ष ठाकरले एकै खेलमा ५–५ विकेट लिएका थिए ।
आकाश चन्द १ रन बनाई सोमपाल कामीको बलमा एलबीडब्लू आउट भए भने विपिन खत्री १० रनमा रनआउट भए । शिखर धवनबिना कर्णाली एनपीएलमा यो पहिलो खेल थियो । धवनको स्थानमा खेलेका बाबरले भने फेरि कुनै प्रभाव पार्न सकेनन् ।
प्रतिकृया दिनुहोस