लामिछानेविरुद्ध देखाए सहकारी पीडिले कालो झण्डा : बाहिर नाराबाजी, भित्र कार्यक्रम
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखराका सहकारी पीडितले कालोझण्डा देखाएका छन् ।
रास्वपाको प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न मंगलबार दिउँसो १ बजे पोखरा आएका सभापति लामिछानेविरुद्ध पीडितले कालोझण्डा देखाएर नाराबाजी गरेका हुन् ।
रास्वपा सभापति रवि लामिछाने अधिकांश मोफसलका कार्यक्रममा सहभागी हुन आउँदा केही समय कार्यकर्तासँगै पैदल हिँड्न रुचाउँछन् । तर, यसपाली पोखरामा आउँदा यस्तो मेसो मिलेन । बरु उनलाई विमानस्थलबाटै प्रहरीले स्कर्टिङ गरेर कार्यक्रम स्थलभित्र पुर्याउनुपर्यो ।
रवि रास्वपा गण्डकी प्रदेशको विस्तारित बैठकमा सहभागी हुन मङ्गलवार पोखरा आएका हुन् । उनलाई बाक्लो संख्यामा सुरक्षाकर्मीका साथ कार्यक्रमस्थल पोखरा बिरौटामा रहेको ग्यालेक्सी बैंक्वैटभित्र लगियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यो बैंक्वैट करिब ३ किलोमिटर दुरीमा रहेको छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने पोखरा आउने थाहा पाएपछि सहकारीपीडित विभिन्न नाराअंकित प्ले कार्ड बोकेर ठूलो संख्यामा बिरौटामा भेला भएका थिए । उनीहरुले ‘सहकारी ठगलाई राजनीतिक संरक्षण, कसले गर्छ हाम्रो बचतको संरक्षण’, ‘दोषीलाई कारबाही गर’, ‘बचत रकम फिर्ता गर’ लगायतका नारा लेखेको प्लेकार्ड बोकेका थिए । सुरक्षा व्यवस्थालाई हेरेर प्रशासनले पनि बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटाएको थियो । रवि कार्यक्रम स्थलमा नआउँदै सहकारी बचतकर्ताले चर्को नाराबाजी गर्न सुरु गरिसकेका थिए ।
रवि आउँदै गर्दा बचतकर्ताले उनलाइ कालो झन्डा देखाए । सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा संलग्नता रहेको भन्दै रविविरुद्ध बचतकर्ताले पोखरामा कालो झन्डा तथा विरोध प्रदर्शन गर्दै आएका छन् ।रविलाई स्कटिङसहित कार्यक्रम स्थलमा लगेपछि त्यहाँ कसैलाई प्रवेश गर्न दिइएन । पार्टी कार्यकर्ताबाहेक अन्यलाई रोक लगाइयो । बाहिर रविविरुद्ध चर्को नाराबाजी भइरहँदा भित्र ढोका बन्द गरेर कार्यक्रम सञ्चालन गरियो ।
यसअघि रविलाई पोखरामै गत पुस ७ गते भाषण गरिरहेकै बेला मकैको खोया प्रहार भएको थियो । पोखरा अमरसिंह चौरमा आयोजित एक कार्यक्रममा सम्बोधन गरिरहँदा सभापतिलाई एक युवकले खोया प्रहार गरेका थिए ।
पोखराको सूर्यदर्शन सहकारीबाट ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्न गैरकानुनी रूपमा पैसा लगेकाले लामिछानेविरुद्ध कारबाही हुनुपर्ने पीडित पक्षको माग छ । लामिछाने तत्कालीन समयमा टेलिभिजनको प्रबन्ध निर्देशक थिए ।
सुरुमा जिल्ला प्रहरी कार्यालय कास्कीमा १ हजार ३५ जना बचतकर्ताले १ अर्ब ११ करोड रुपैयाँ ठगी भएको उजुरी प्रहरीमा दिएका थिए । उक्त ठगी मुद्दा जिल्ला अदालत कास्कीमा विचाराधीन छ ।
मुद्दामा सुरुमा १९ जनालाई प्रतिवादी बनाइएकोमा सहकारी पीडितको पूरक जाहेरीमा १४ कम्पनी र चारजना व्यक्तिको नाम छ । फेरि २५ जना विरुद्धसमेत उजुरी परेको छ। कास्की प्रहरीले उजुरीका सम्बन्धमा अनुसन्धान गरिरहेको भइरहेको जनाएका छ ।
सहकारीको रकम अपचलन गरेको विषयमा गठित अनुसन्धान समितिले पछिल्लो समय ४ महिना लगाएर अध्यनय गरेको थियो । सो अध्ययनको ३४१९ पृष्ठ लामो प्रतिवेदन वैशाख २७ गते पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कास्की प्रहरीलाई बुझाएका थिए । पहिलोपल्ट भएको विस्तृत अध्ययनमा समेत पोखरा महानगर सहकारी विभागले ४५० पृष्ठको प्रतिवेदन तयार पारेको थियो ।
पोखरा–४, नालाकोमुखस्थित सूर्यदर्शनको सञ्चालक समितिका पदाधिकारीहरुसमेतले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको र सहकारीको रकम हिनामिना एवं ठगी गरेको जाहेरीअनुसार गत वर्ष २२ साउनमा सहकारी ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालयले गत वर्ष १८ असोजमा १९ जनालाई प्रतिवादी बनाई १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो भराई बिगोबमोजिम जरिबाना र ८ देखि १० वर्षसम्म कैद सजाय माग दाबीसहित जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो । तीमध्ये सहकारीका संस्थापक अध्यक्ष जीबी राईसहित अधिकांश फरार छन् । अनेक उपाय गरिए पनि सहकारीका संस्थापक अध्यक्ष राई फेला परेका छैनन् । राई ग्यालेक्सी फोरके टेलिभिजनका प्रमुख सञ्चालक हुन् ।
प्रतिकृया दिनुहोस