करोडौंको फुटपाथमा अव्यवस्थित पार्किङ, महानगर सधैं मौन किन ?
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नै अन्तर निकाय समन्वय नगर्दा करोडौं रुपैयाँमा सम्झौता भएर निर्माणाधीन अवस्थामा रहेका फुटपाथका योजनाहरु निर्माण सम्पन्न नहुँदै भासिने र ब्लक फुट्ने समस्या देखिन थालेको छ ।
अव्यवस्थित पार्किङ्गमा कडाई गर्दै आएको महानगर प्रहरी फुटपाथमा पार्किङ्ग गर्दा भने रमिते बनेको छ । महानगरको सार्वजनिक निर्माण विभागले फुटपाथको संरचना निर्माण तथा सुधारको काम गरिरहेको छ। फुटपाथमा रंगिन ब्लक छापिने क्रम जारी छ ।
तिनकुने क्षेत्रमा जारी फुटपाथ मर्मत तथा ब्लक छाप्ने कार्यमा अवस्थित पार्किङ्ग र फुटपाथबाटै सवारीसाधन चल्दा बनाउँदा बनाउंदै फुटपाथका ब्लक भासिने र फुट्ने देखिएको हो । महानगर प्रहरीले तिनकुने-सिनामंगल क्षेत्रमा ध्यान नदिंदा महानगरले थुप्रै हानि व्यहोर्नु पर्ने देखिएको छ ।
यद्धपि काठमाडौँका अन्य क्षेत्रमा पनि यो समस्या देखिन्छ । महानगर, विद्युत प्राधिकरण, टेलिकम जस्ता सार्वजनिक निकायबीच समन्वय नहुँदा एकैठाउँमा भत्काउँदै बनाउंदै गर्दा राज्यलाई अतिरिक्त भार थपिने देखिन्छ। महानगरले फुटपाथ बनाईसकेको स्थानमा प्राधिकरणले भत्काउँदै भूमिगत तार बिछ्याउने गरेको छ । ढल व्यवस्थापन, तार व्यवस्थापन जस्ता कामले समस्या थपिरहेको छ ।
नेपाल विद्युत् प्राधिकरणले आयोजना नै छुट्याएर पोलमा झुन्डिएको तारलाई भूमिगत गर्दैछ । तार भूमिगत गर्दा सडक किनारमा भर्खर बनेका रंगीन फुटपाथ फेरि भत्कने भएका छन् । एउटै सडकपेटीमा काम गर्दा सरकारी निकायबीच समन्वय नभएपछि सडकपेटी फेरि भत्काउनुपर्ने अवस्था उत्पन्न भएको हो ।
यसअघि मेलम्ची खानेपानी उपत्यकामा ल्याउन आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)ले पनि फुटपाथ भत्काएको थियो । सो फुटपाथ निर्देशनालयले नै बनाइदिनुपर्ने भए पनि लामो समय लथालिंग अवस्थामा छाड्यो । पछिल्लो समय सडकपेटी सहज बने पनि त्यसैगरी पुनः भत्कने भएका छन् ।
महानगरपालिकाभित्र करिब १ हजार ३ सय किलोमिटर सडक छ। यसमध्ये ८ मिटरभन्दा कम चौडाइ भएको १ हजार किलोमिटर सडक महानगरपालिका अन्तर्गत पर्छ। महानगरले अधिकांश क्षेत्रमा फुटपाथमा रंगिन ब्लक छाप्ने कार्य गरिरहेको छ ।
प्रतिकृया दिनुहोस