एयरपोर्टमै ढलेका रुपलालको गाउँमा रुवाबासी, शोकमा डुब्यो बेलगनार
काठामाडौं । दुई छोरा, श्रीमती र वृद्ध आमा छाडेर ४ वर्षअघि मलेसिया पुगेका दाङको तुलसीपुर उपमहानगरपालिका–११, बेलगनारका रूपलाल चौधरी आइतबार जन्मभूमि फर्कँदै थिए । तर दुर्भाग्य उनले जन्मभुमी नै टेक्न पाएनन् ।
साढे चार वर्षपछि घर फर्कन लागेका उनी परिवारसँग भेट्न पाउने कुराले उत्साहित थिए । दिउँसो करिब २ बजे क्वालालाम्पुरको एयरपोर्ट पुगेपछि घरमा पत्नीलाई भिडियो कल गरे । आफू फर्कन लागेको भन्दै एयरपोर्टका दृश्यहरु देखाए ।
उनले दिदी, भिनाजु र आफन्तलाई पनि फोन गरे । मलेसियामै रहेका भाइ लोकमणिसँग पनि भिडियो कुराकानी गरे । मलेसियाबाट नेपाल फर्किने जहाजको त्यस दिन नेपाली समय अनुसार ३ बजेको फ्लाइट थियो । उनी बोर्डिङ पास लिएर र लगेजहरु पठाएर फ्लाइटको प्रतीक्षामा थिए ।
‘फ्ल्याइटको केहीबेर अघिसम्म छोरा र भाइसँग कुरा भइरहेको रहेछ’ रुपलालका भतिज घनश्याम थारुले भने, ‘कुराकानी हुँदा हुँदै काका (रुपालाल) को म्यासेज आउन छोड्यो ।’ सुरुमा परिवारले फ्लाइटको समय भएकाले रिप्लाई नआएको होला भन्ने अनुमान गरे । तर त्यसपछि केही खबर आएन । नेपाल फर्किने बेलासम्म पनि खबर नआएपछि परिवारका सदस्य आत्तिए । उनको मोबाइलमा फोन गरिरहे, तर उठेन ।
लामो समयसम्म फोन गरिरहेपछि मलेसियाली नागरिकले फोन उठाएर केही भने, तर कसैले बुझेन । रुपलालका छोरा विपिनले मलेसियामा नै रहेका काका लोकमणिलाई बुझ्न लगाए। लोकमणिले बुझ्दा रुपलालको एयरपोर्टमै मृत्यु भएको खुल्यो ।
भाइ लोकमणिले घरमा पठाएको खबर अनुसार जहाज पर्खिरहेका बेला रुपलाल अचानक ढलेका थिए । उनको एयरपोर्टमै मृत्यु भइसकेको थियो । उनको पोर्टमार्टम हुन भने बाँकी छ ।
शोकमा परिवार
भजित घनश्याम थारुका अनुसार साढे चार वर्षपछि घर फर्कन लागेका रुपलाल अब मलेसिया नफर्किने तयारीमा थिए । घर फर्केर उनले परिवारसँग समय बिताउन चाहेका थिए । पहिलो पटक मलेसिया गएका उनी परिवारसँग छुट्टिएर बस्दाको नियास्रो मेटाउन चाहन्थे ।
चाडबाडको मुखमा घर फर्कन लागेका रुपलालको मृत्युको खबरले परिवार शोकमा छ । आइतबारमात्र मृत्युको खबर पाएकी उनकी पत्नी मनबुझौनी चौधरी विक्षिप्त छिन् । ‘चाडबाडकै मुखमा, त्यो पनि घर फर्कने बेला यस्तो खबर आयो’, भतिज घनश्याम भन्छन्, ‘मृत्युको खबरले परिवार आँशुमा डुबेको छ । गाउँ नै शोकमा छ ।’
वडाध्यक्ष मानबहादुर रावतका अनुसार, मृतक चौधरीको शव ल्याउने प्रयास भइरहेको छ । ‘हामीले दिउँसो खबर सुन्यौँ । भोलि बिहान कार्यालय खुलेपछि बाँकी आवश्यक कागज प्रक्रिया अघि बढाउँछौँ,’ वडाध्यक्ष रावतले भने ।
मलेसियामा रहेको नेपाली दूतावासका कर्मचारीसँग समन्वयको प्रयास भइरहेको उनले बताएका छन् । उनको शव नेपाल ल्याउन लाग्ने खर्चको जोहो गर्न त्यहाँ उनका भाइ लोकमणि र अन्य नेपाली मनहरूले लागिरहेका छन् ।
२३ वर्षअघि दुर्घटनामै गुमाएका थिए बुवा
२०५८ साल असोज महिनाको कुरा हो। रूपलालका बुवा काम विशेषले घोराही हुँदै लमहीतिरको यात्रामा थिए । सार्वजनिक बसमा चढेका उनले भयानक दुर्घटनामा परेर ज्यान गुमाएका थिए ।
आफन्त घनश्यामले बताए अनुसार, सोही साल बुवाको निधन भएपछि रूपलालकै काँधमा परिवारको जिम्मेवारी आएको थियो । परिवारको अवस्था बलियो बनाउन रूपलाल ४ वर्षअघि मलेसिया गएका थिए ।
प्रतिकृया दिनुहोस