हरियो मकै बेचेर मनग्य आम्दानी गर्दै कोशीका किसान

Makai kheti

बेलबारी (मोरङ) । कोशी प्रदेशमा मकैको उत्पादनमा वृद्धि भएको छ । गतवर्ष भन्दा यस वर्ष एक लाख ६२ हजार सात सय ५३ दशमलव ९५ मेट्रिकटन धेरै मकै उत्पादन भएको कृषि विकास निर्देशनालय कोशी प्रदेशले जनाएको छ ।

प्रदेशमा गतवर्ष नौ लाख ७२ हजार ७३ मेट्रिकटन मकै उत्पादन भएकामा यस वर्ष ११ लाख ३४ हजार ८२६ दशमलव ९५ मेट्रिकटन उत्पादन भएको हो ।

गत आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशको दुई लाख ८४ हजार तीन सय ४० हेक्टरमा मकैखेती गरिएको थियो भने आव २०८०/८१ मा दुई लाख ७५ हजार नौ सय ५१ हेक्टरमा मकैखेती गरिएको निर्देशनालयले जनाएको छ ।

क्षेत्रफल घट्दा पनि उत्पादनमा भने वृद्धि भएको देखिन्छ । अघिल्लो आवमा प्रति हेक्टर ३ दशमलव ४२ मेट्रिकटन मकै उत्पादन भएकोमा पछिल्लो वर्ष प्रति हेक्टर ४ दशमलव ११ मेट्रिकटन मकै उत्पादन भएको निर्देशनालयका प्रमुख प्रकाशकुमार डाँगीले जानकारी दिए ।

उनका अनुसार प्रदेशको १४ जिल्लामध्ये सबैभन्दा कम खोटाङमा प्रति हेक्टर १ दशमलव ८३ मेट्रिकटन र सबैभन्दा धेरै झापामा प्रति हेक्टर ७ दशमलव ८७ मेट्रिकटन मकै उत्पादन भएको छ ।

मकैको उत्पादन बढेसँगै किसान खुसी छन् । मोरङ बेलबारी १० भाउन्नेकी हिरा अधिकारीले केरा खेती मासेर व्यवसायिक मकै खेती गर्दै आएको बताइन् । उनले मौसममा डेढ बिघा जमिनमा र बेमौसममा आठदेखि १० कठ्ठा जमिनमा छ वर्षदेखि मकै खेती गर्दै आएकी छन् । ‘गत वर्ष सात कठ्ठा जमिनमा लगाएको मकै ९० हजारमा बिक्री भयो’, उनले भनिन् ।

किसान अधिकारी जस्तै बेलबारी–८ राधानगरका महेन्द्र तामाङले १४ कठ्ठा जमिनमा मकै लगाउने गरेका छन् । किसानको घरदैलोमै आएर व्यापारीले आकर्षक मूल्यमा मकै खरिद गर्ने गरेको उनको भनाइ छ । खाद्यान्न बालीका रुपमा लिइने मकै बाली पछिल्लो समय तराईका जिल्लामा बाहै्र महिना उत्पादन गर्न थालेसँगै नगदे बालीको रुपमा परिणत हुँदै गएको कृषि विकास निर्देशनालय कोशी प्रदेशका प्रमुख प्रकाशकुमार डाँगी बताउँछन् ।

सुकेको मकैभन्दा हरियो मकै बेच्न सक्दा राम्रो आम्दानी हुने उनले बताए । मकैको माग अत्यधिक रहेको छ, यसलाई फिड बनाएर बेच्न सक्दा अझ राम्रो आम्दानी हुने डाँगीको भनाइ छ । परम्परागत अन्नबालीभन्दा राम्रो आम्दानी हुन थालेपछि तराई क्षेत्रमा पर्ने झापा, मोरङ र सुनसरीका किसानले व्यावसायिक रुपमा हाइब्रिड जातको मकैखेती गर्न थलेका छन् ।

तराइमा विशेषगरी हाइब्रिडअन्तर्गत पर्ने पाइजियर एक्स टि, रामपुर र पहाडमा विशेषगरी उन्नत जातमा रामपुर कम्पोजिट, मनकामना, गणेश साथै स्थानीय जातका मकै रोप्ने चलन रहेको निर्देशनालयका योजना शाखा अधिकृत काजिमान प्रधानले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

संकटमा पत्रकार महासंघ : बहाना विपुल पोख्रेल, कारक पेशागत संगठन

Fnj nepal

काठमाडौँ । यतिबेला नेपाल पत्रकार महासंघ राजनीतिक हिसावमा निक्कै संकटमा परेको छ । नेपाली पत्रकारह...