सिन्धुलीको गोलान्जोर कुँडुलेबाट सुनकोशीमा खस्यो हाइलक्स, ३ जना बेपत्ता
काठमाडौं । खोटाङको हलेसीबाट काठमाडौँ आउँदै गर्दा सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोसी नदीमा खसेर बेपत्ता भएको हाइलक्स भेटिएको छ ।
सुर्यविनायक नगरपालिका, जगातीका ३२ वर्षीय अबिन बाँके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा नदीमा बेपत्ता छन् । उक्त हाइलक्स ३२ वर्षीय अबिनले चलाएका थिए । सोही गाडीमा सवार अर्का एक जना भने हाम फालेर बाँचेका छन् । २७ वर्षीय सुशान्त कक्षपतिले भने ज्यान जोगाएका हुन् । सो हाइलक्समा ४ जना सवार थिए ।
सुनकोशीको बहाव बढिरहेकाले बेपत्ताको खोजबिनका लागि सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस खुर्कोटबाट १० जनाको टोली परिचालन भएको सिन्धुली प्रहरीका प्रमुख एसपी गोविन्दराज काफ्लेले बताए ।
बेपत्ताको खोजीमा दुर्घटना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, गोलन्जोर गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीय खटिएका छन् । गोताखोरको टोलीले सुनकोसी नदी भित्र बेपत्ता गाडी भेटेर त्यसलाई निकाल्न टुचन लगाएको र जेसीवी मगाएर नदी बाहिर निकाल्ने प्रयास भइरहेको गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वला प्रसाद न्यौपानेले जानकारी दिए ।
घटनास्थलमै रहेका उपाध्यक्ष न्यौपानेका अनुसार गाडीमा टुचन अड्काएर राखिएको र टुचन छोटो भएपछि थप टुचन मगाइएको छ। सुनकोसी नदीमा पानिको बहाव बढ्दै गएको । गाडी निकाल्न गाउँपालिकाको जेसीभी मगाइएको उनले जनाए। गाडी दुर्घटना स्थलभन्दा करिब ५० मिटर तल फेला परेको छ ।
प्रतिकृया दिनुहोस