भारतीय विमानबाट मृतक सबैको भारत लगियो शव, भारतीय राज्य मन्त्रीलाई गरियो घाइतेको ब्रिफिङ
काठमाडौं । तनहुँ दुर्घटनामा परी ज्यान गुमाएका मध्ये २५ जनाको शव भारतको महाराष्ट्र पठाइएको छ ।
शनिबार अपराह्न शव लैजान भारतीय सेनाको विमान भरतपुर विमानस्थलमा आएको हो । सो विमानमा २५ शव पठाइएको छ । दुर्घटनामा परी मृत्यु भएको चालक र सहचालकका शव स्थलमार्ग हुँदै उत्तर प्रदेशको गोरखपुर पठाइएको छ ।
शुक्रबार पोखराबाट काठमाडौँतर्फ आइरहेको युपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको थियो । दुर्घटनामा १६ जना घाइते भएका छन् ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सो विमान भरतपुरबाट शुक्रबार साँझ ५ बजेर ८ मिनेटमा भारत महाराष्ट्र राज्यको नासिकतर्फ उडेको छ । दुर्घटनामा मृत्यु हुनेमध्ये २५ जना महाराष्ट्रको जलगाउँ जिल्लाका हुन् । बाँकी दुई जना मृतक बसका चालक, सहचालक गोरखपुरका हुन् ।
भरतपुरमा भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खाड्से र महाराष्ट्रका विधायक सञ्जय शुभकरे पनि आएका थिए । उनीहरू पनि सोही विमानमार्फत फर्केका छन् ।
यता, आफ्नो देशका २७ जना नागरिकको सडक दुर्घटनामा निधन भएपछि नेपालको आकष्मिक भ्रमणमा रहेकी भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेलाई सुरक्षा निकायका अधिकारीले दुर्घटनाबारे जानकारी गराएका छन् ।
गृहमन्त्री रमेश लेखकको उपस्थितिमा गृह मन्त्रालयमा ब्रिफिङ भएको हो । त्यसक्रममा गृहमन्त्री लेखकले दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ उद्धारकर्मी परिचालन भएका तथा घाइतेलाई यथाशक्य चाँडो उद्धार गरेर अस्पताल पुर्याइएको जानकारी गराए । घाइतेको उपचारमा कुनै कमीकमजोरी हुन नदिने व्यवस्था सरकारले मिलाएको भन्दै मन्त्री लेखकले दुर्घटनाप्रति नेपाल सरकार अति दुःखी भएको बताए ।
गृहमन्त्री लेखकले नेपाल सरकारका तर्फबाट दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरे । साथै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे । त्यसअघि गृहमन्त्री लेखक र राज्यमन्त्री खड्सेले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत घाइतेको अवस्थाबारे जानकारी लिएका थिए । उक्त अस्पतालको सघन उपचार कक्षमा तीन र अन्यको सामान्य वार्डमा उपचार भइरहेको छ ।
राज्यमन्त्री खड्सेले नेपाल सरकारबाट उद्धारदेखि उपचारसम्मका काममा भएको कुशल व्यवस्थापनप्रति आभार प्रकट गरिन् ।
प्रतिकृया दिनुहोस