गठ्ठाघर दुर्घटना : दिनभर तनावग्रस्त, बल्ल चल्न थाल्यो सवारी साधन (तस्विरहरु)
भक्तपुर । गठ्ठाघरमा मालबाहक ट्रकले ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ । स्कुटर चालकको मृत्यु भएपछि उत्पन्न तनावपछि भक्तपुरको गठ्ठाघरमा प्रहरीले अश्रुग्यास हानेको छ ।
बिहीबार दिउँसो ट्राफिक प्रहरीको चेकिङमा रोकिएको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ट्रकले रोकिरहेको स्कुटरलाई ठक्कर दिएपछि करिब सय मिटरसम्म घिसारेको थियो । त्यसपछि स्थानीय बासिन्दाले दुर्घटना हुनुमा ट्राफिक प्रहरीको पनि दोष रहेको भन्दै प्रदर्शन गरेका हुन् ।
उनीहरुले ट्रक चालकलाई कारबाही गर्न माग गरेका छन् । प्रदर्शनकारीले सडकको बीचमा रहेको ट्राफिक आइल्याण्ड पनि भत्काइदिएका छन् ।प्रदर्शनकारी आक्रामक भएपछि भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास हानेको छ ।
मृत्यु हुनेमा दोलखाको मेलुङ गाउँपालिका–६ घर भएकी २६ वर्षीया सुष्मा नेपाली रहेको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका एसएसपी जीवन श्रेष्ठले बताए । उनलाई ट्रकको चक्काले चेपेको थियो । ट्रक चालक फरार रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । दुर्घटनापछि करिब दुई हजार सर्वसाधारण सडकमा आएर प्रदर्शन गरेका थिए । घटनास्थलमा जिल्ला प्रहरी परिसर भत्तपुरका ८० जना र काठमाडौंका ११५ जना प्रहरी परिचालन भएका छन् ।
प्रहरीले शव उठाएर त्रिवि शिक्षण अस्पताल पठाएको छ । अहिले भने त्यो क्षेत्र शान्त छ । अरनिको राजमार्गमा सवारी साधन चल्न थालेका छन् ।
प्रतिकृया दिनुहोस