तत्काल उद्योगको लाइन जोड्न कुलमान घिसिङलाई प्रधानमन्त्री ओलीको निर्देशन

Kp oli and kulman

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड फिडर र ट्रंक लाइन विवादमा नेपाल विद्युत् प्राधिकरणले काटेको विभिन्न उद्योगको बिजुली आजै जोड्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएका छन् ।

डेडिकेटेड र ट्रंक लाइन विवाद देखाएर घिसिङले पछिल्लो समय ६ उद्योगको लाइन काटेका थिए । त्यसले उद्योग क्षेत्रलाई असर परेको भन्दै शुक्रबार उद्योग, ऊर्जा एवम् प्राधिकरणका पदाधिकारी र उद्योगीहरूबीच सामूहिक छलफल गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीको निर्देशन पछि घिसिङले सञ्चालक समिति बैठक बसेर यसबारे निर्णय लिने बताएका थिए । सोही अनुसार आजै बोर्ड बैठक बसी विद्युत् सुचारु हुने समेत बताइएको छ । महसुल विवाद भने थप अध्ययन गरी निष्कर्षमा पुगिने प्रधानमन्त्री ओलीले बताएको स्रोतको भनाइ छ ।

प्राधिकरण र उद्योगी दुवैतर्फबाट आउने विषयहरु अध्ययन गरी एक निष्कर्षमा पुग्ने र सोही आधारमा मन्त्रिपरिषदबाट निर्णय गर्ने प्रधानमन्त्री ओलीले बताएका छन् । छलफलमा उद्योग, वाणिजय तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ एवम् मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो ।

उद्योगीहरूले भने ुनक्कली बिलु नतिर्ने भन्दै प्राधिकरणमाथि दबाब दिइरहेका थिए । घिसिङले लाइन काटिएका उद्योगमा पुनः लाइन जोड्न प्राधिकरणको बोर्डको निर्णय चाहिने र त्यसका लागि आइतबारसम्म पर्खनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस