सिमलताल अपडेट : भारतमा भेटिन थाल्यो त्रिशूलीमा बेपत्ता यात्रुको शव, अहिलेसम्म भेटियो १२ शव

Simaltar narayani khola

काठमाडौं । गत शुक्रबार नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा लेदो सहितको पहिरोमा परी त्रिशूली नदीमा हराइरहेका दुई बस र त्यसमा सवार यात्रुको खोजी आज पनि जारी छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीका टोलीले शुक्रबारदेखि खोजी कार्य जारी राखेका छन् । खोज तथा उद्धार कार्यमा सशस्त्र प्रहरीको गोताखोरसहित करिब पाँच सय जनाको टोली परिचालन गरिएको छ । दुर्घटनामा परेका दुई वटा बसमा कम्तिमा ६५ यात्रु सवार थिए ।

तीमध्ये तीन जनाले पौडिएर ज्यान जोगाएका थिए । बेपत्ता भएका यात्रुमध्ये अहिलेसम्म १२ जनाको शव फेला परेको छ । तीमध्ये पाँच जनाको सनाखत भएको छ भने सात जनाको सनाखत हुन बाँकी छ । अहिले नेपालमा खोजी कार्य तीव्र बनाइए पनि सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसालेको बसका यात्रुको शव भारतमा फेला पर्न थालेको छ ।

पहिरोसँगै त्रिशूली नदीमा खसेका दुईवटा बसका यात्रुको शव भारतको वाल्मीकि नहरमा भेटिन थालेको चितवन प्रहरीले जनाएको छ । नारायणी नदी हुँदै त्रिवेणीको गण्डक व्यारेज भएर भारतको वाल्मीकि नहरमा पुगेको अवस्थामा आइतवार चारवटा शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए ।

वाल्मीकि नहरमा आइतबार फेला परेका ४ वटा शवमध्ये आज बिहानसम्म दुई वटा शवको पहिचान खुलेको छ । ती शव भरतपुर महानगरपालिका–२२ पदमपोखरी बस्ने २२ वर्षीय सुदिप विक र रौतहटको जमुनामाई–४ बस्ने १७ वर्षीय फिरोज राहुप मियाँको भएको प्रहरीले जनाएको छ ।

भरतपुर–२२ का सुदिप वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश०३–००६ख१५१६ नम्बरको बसमा सवार थिए भने रौतहटका मियाँ काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको प्रदेश०३–००१ख२४९५ नम्बरको बसमा सवार थिए । उनीहरुको शव पूर्वी नवलपरासीको विनयी त्रिवेणीबाट गए राति करिब २ बजेतिर चितवन ल्याइएको छ ।

यससँगै हालसम्म १२ वटा शव फेला परेको प्रहरीले जनाएको छ । डीएसपी रिजाललका अनुसार फेला परेका १२ शवमध्ये सातवटा शवको पहिचान खुलेको छ भने पाँच वटा शवको सनाखत हुन बाँकी छ । आइतबार साँझ भारतमा भेटिएको २ शव र नारायणी नदीमा भेटिएको ३ शवको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस