बाढी र डुबानमा परी कैलाली र कन्चनपुरमा ६ सय परिवार प्रभावित, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

Kanchanpur bedkot flood

धनगढी । वर्षासँगै आएको बाढी र डुबानले कैलाली र कञ्चनपुरमा गरी झण्डै ६ सय परिवार प्रभावित भएका छन् ।

शनिबारदेखिको वर्षापछि आएको बाढी बस्तीमा पसेपछि दुवै जिल्लाका बाढी तथा डुबानबाट प्रभावित दुई हजार बढी मानिसलाई सामुदायिक विद्यालय र सामुदायिक भवनमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बाढी तथा डुबानबाट कैलालीको पूर्वी भूभाग बढी प्रभावित भएको छ । कैलालीको कान्द्रा र काडा नदीका कारण भजनी नगरपालिका र जोशीपुर गाउँपालिका क्षेत्र डुबानमा परेको छ । भजनी नगरपालिकाका वडा नम्बर ५ र ७, जोशीपुर गाउँपालिकाका वडा नम्बर ३ र ८ तथा टीकापुर नगरपालिकाको वडा नम्बर ६ बाढी र डुबानका कारण प्रभावित भएका छन् । धनगढी उपमहानगरपालिकाका वडा नम्बर १८ र १९ तथा गौरीगंगा नगरपालिकाका केही वडा समेत डुबानमा परेका छन् ।

आइतबार साँझदेखि वर्षा हुने क्रम बढेपछि राति प्रभावितहरुको संख्यासमेत बढेको थियो । कञ्चनपुरका विभिन्न स्थानमा नदी तथा खोलाको भंगालोमा फसेका २९ जनाको सकुशल उद्दार समेत गरिएको छ । अहिलेसम्म कञ्चनपुरमा घरभित्र जमेको पानीमा डुबेर ७ महिनाको शिशुको मृत्यु तथा कैलाली र कञ्चनपुरमा नदीमा डुबेर दुई जना बेपत्ता भएको बाहेक थप मानवीय क्षति नभएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रबिन्द्र केसीका अनुसार बाढी, पहिरो तथा डुबानबाट प्रभावित भएकाहरुको उद्धारका लागि प्रदेशभर दुई हजार भन्दा बढी प्रहरी परिचालन गरिएको छ । प्रहरीकै संख्यामा अन्य सशस्त्र प्रहरी र नेपाली सेना समेत उद्दार तथा राहतका काममा खटिएका छन् ।

कञ्चनपुरमा सबैभन्दा बढी भीमदत्त नगरपालिका क्षेत्र प्रभावित भएको छ । यसैबीच लगातारको वर्षाका कारण कञ्चनपुरको वेदकोट नगरपालिका–७ मा पूर्वपश्चिम राजमार्गमा पर्ने कल्भर्ट भासिएपछि राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण डडेल्धुराको साहुखर्कमा अवरुद्ध भएको भीमदत्त पन्त राजमार्ग एकतर्फी रुपमा खुलाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

प्याजेन्ट नेपालद्धारा मल्ल होटलमा तीज महोत्सव आयोजना

Jit mahotsab

काठमाडौं । नेपाली नारीहरुको पर्व हारितालिका तीज नजिकिँदै गर्दा विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।...