सरकारले बोलायो ११ देशका राजदूत, अब एमालेको भागमा पनि राजदूत पर्ने

Mantriparisad baitha

काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

सत्ता गठबन्धनमा आएको परिवर्तनसँगै कांग्रेसनिकट राजदूत फिर्ता बोलाउन एमालेले दबाब दिइरहेको थियो । अबको नियुक्तिमा एमालेले पनि भाग पाउनेछ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत,साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल सहितका दलको राजनीतिक कोटामा राजदूत बनेकाहरू फिर्ताको सूचीमा परेका हुन् । अघिल्लो गठबन्धनका बेलामा राजदूत बनेकाहरूलाई नयाँ गठबन्धन सरकार बनेसँगै फिर्ता बोलाएको हो ।

भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् । उनीहरुलाई ११ कात्तिक २०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो ।

यस्तै साउदी अरेबियामा नवराज सुवेदी, दक्षिण कोरियामा ज्योति प्याकुरेल, मलेसियामा डिल्लीराज पौडेल, स्पेनमा शर्मिला पराजुली ढकाल, डेनमार्कमा प्रा. डा. रामसुरज यादव र इजरायलमा कान्ता रिजाल राजदूत छन् । २४ चैत २०७८ मा देउवा नेतृत्वको सरकारले उनीहरुसहित ११ राजदूत सिफारिस गरेको थियो ।

तर, त्यसबेला सिफारिस भएर नियुक्ति पाएका चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, रसियाका लागि मिलन तुलाधरलाई भने फिर्ता बोलाइएको छैन ।

कतारका लागि नेपाली राजदूतमा डा। नरेशविक्रम ढकाल थिए । २६ जेठ २०७९ मा नियुक्त भएका उनलाई पनि फिर्ता बोलाइएको छ । सरकारले पोर्चुगलका लागि नेपाली राजदूत सनिल नेपाललाई पनि फिर्ता बोलाएको छ ।

कांग्रेसको जोडबलमा प्रचण्ड सरकारले २३ कात्तिक २०८० मा पोर्चुगलमा राजदूताबास राख्ने निर्णय गरेर राजदूतमा नेपालको नाम सिफारिस गरेको थियो । संसदीय सुनुवाइको प्रक्रिया पुरा गरेर उनले २४ माघ २०८० मा मात्र नियुक्ति पाएका थिए ।

प्रतिकृया दिनुहोस