स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव, मेघगर्जन र चट्याङसहित वर्षा हुने

Mausam

काठमाडौं । नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ । जसका कारण अहिले कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज बिहान कोसी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ । देशका बाँकी भूभागको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोसी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहनेछ । कोसी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा बाँकी भूभागका एकदुई स्थानमा दिउँसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेशका एकदुई स्थानमा दिउँसो हावाहुरीको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ। कोसी, मधेस र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा राति पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोसी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा थोरै स्थानहरूमा तथा बाँकी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस