राष्ट्रिय दलित पत्रकार संघको पाँचौं स्थापना दिवस सम्पन्न, काठमाडौंमा ३ पत्रकार सम्मानित

Dalit patrakar news

काठमाडौं । दलित समुदायका सञ्चारकर्मीहरुको साझा संस्था राष्ट्रिय दलित पत्रकार संघ नेपालले पाँचौं स्थापना दिवस देशभर मनाएको छ ।

संस्था स्थापना भएको यो अवधीमा देशभर ६५ जिल्लामा जिल्ला शाखा गठन भएको छ भने उपत्यकासहित ८ प्रदेश समिति पनि छ । यो संघमा देशभर करिव एक हजार दुई सय सदस्य आवद्ध छन् ।

संघले आफ्नो पाँचौं स्थापना दिवसको अवसर पारेर कतिपय जिल्लाहरुमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । रुपन्देहीमा शुभकामना आदान प्रदान कार्यक्रम कपिलवस्तुको तितौराकोटमा दिप प्रज्वलन गरिएको छ । उता अछाम जिल्लामा रक्तदान कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको छ ।

राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपाल केन्द्रिय समितिले काठमाडौंमा ‘आमसञ्चार माध्यम र समावेशीकरण’ विषयक कार्यक्रम आयोजना गरेको छ । सो अन्तरक्रियामा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारसम्वन्धि कानुनलाई समावेशी बनाइने बताइन् । उनले अब बन्ने सञ्चारसम्वन्धी कानुन र सामाजिक सञ्जाल नियमन लगायतका सबै कानुनलाई हरेक हिसाबले समावेशी बनाउने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

उनले दलित समुदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूत लगायतका समस्या समाधानका लागि भएका ऐन, कानुनको प्रभावकारी कार्यान्वयन गर्दै सचेतनामार्फत अन्त्य गर्नुपर्नेमा जोड दिइन् । उनले आगामी दिनमा सरकारी सञ्चारमाध्यमलाई समावेशी बनाउन पहल गर्ने प्रतिवद्धता जनाइन् ।

सो कार्यक्रममा समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणी सुवेदीले वर्तमान व्यवस्था दलितमैत्री नभएको र त्यसैको आधारमा नेपाली सञ्चार माध्यम पनि दलितमैत्री बन्न नसकेको बताए । पत्रकारका सबै संघ संगठनहरुले दलित समुदायका पत्रकारहरुलाई नेतृत्व तहमा लैजाने आँट गर्नुपर्ने बताउँदै नेपाल पत्रकार महासंघको निर्वाचन आउनैलाग्दा दलित, जनजाति, मधेशी र उत्पीडनमा परेका पत्रकारलाई छानीछानी सदस्यता पाउनबाट बञ्चित गरिएको कारण त्यसलाई सच्याउनुपर्नेमा जोड दिए ।

सो कार्यक्रममा नेपाल प्रेस युनियनका सचिव लाल कुमार मोक्तान, प्रेस चौतारी नेपालका उपाध्यक्ष सविन प्रियासन, जनपत्रकार संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्मा, श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैसी, आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का अध्यक्ष गजुरधन राई, जागरण मिडया सेन्टरका अध्यक्ष कमला विश्वकर्मा, सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवा, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह लगायतले आमसञ्चार माध्यमलाई विषयवस्तु र सहभागिताको हिसाबले समावेशी बनाउनुपर्नेमा जोड दिए ।

सो अवसरमा पूर्वमन्त्री जितु गौतम, पूर्व राजदूत पदम सुन्दास, वरिष्ठ पत्रकार बालकृष्ण चापागाई लगायतले राज्यलाई पूर्ण समावेशी बनाउनुपर्नेमा जोड दिए । उनीहरुले पछिल्लो समयमा दलित समुदायको राज्यका निकायमा सहभागिता रहे पनि विभेद र उत्पीडनको हिसावले प्रर्याप्त नभएकाले संघर्ष गर्नुपर्ने अवस्था आएको बताए ।

सो कार्यक्रम संघका विनोद पहाडीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव लक्ष्मण दर्नालले गरेका थिए । सो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गोपाल बराइलीले संघ स्थापनापछि भए गरेका कामहरुको जानकारी गराएका थिए ।

३ पत्रकार सम्मानित
राष्ट्रिय दलित पत्रकार संघको पाँचौं स्थापना दिवसको अवसरमा पत्रकारीता क्षेत्रमा महत्वपूर्ण योगदान दिने ३ जना पत्रकारलाई सम्मान गरेको छ ।
संघले खोज पत्रकार बाबुराम विश्वकर्मा, अन्नपूर्ण दैनिकमा कार्यरत राजकरण महतो र समखवर डटकमकी सम्पादक शोभा विश्वकर्मालाई सम्मान गरिएको हो । उनीहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सम्मान गरिन् ।

संघले आफ्नो स्थापना दिवस, साधारण सभा र महधिवेसनमा सञ्चार क्षेत्रमा योगदान दिने सञ्चारकर्मी, दलित आन्दोलनमा योगदान दिने र क्रियाशील पत्रकारहरुलाई सम्मान तथा पुरस्कृत गर्दै आएको छ । संघले अग्रज पत्रकार स्व. टीआर विश्वकर्मा स्मृति पत्रकारीता पुरस्कार, देवव्रत स्मृति पत्रकारिता पुरस्कार, राममाया च्यामे स्मृति पत्रकारीता पुरस्कार, परशुसवरी स्मृति पुरस्कार लगायतका पुरस्कार प्रदान गर्दै आएको छ ।

 

प्रतिकृया दिनुहोस