नागढुंगा–सिस्नेखोला सुरुङमार्ग ‘ब्रेक थ्रु’, एक वर्षभित्र सञ्चालनमा आउने
काठमाडौं । सडक यातायात प्रयोजनमा प्रयोग गर्ने सुरुङ मार्गमध्ये नेपालको पहिलो र सबैभन्दा लामो नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार ‘ब्रेक थ्रु’ छ । यससँगै मुलुकको सुरुङमार्ग तर्फको यात्रा समेत सुरु भएको छ ।
संघीय राजधानी काठमार्डौंलाई बाहिरी जिल्लासँग जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्गमा निर्माणाधीन यो सुरुङमार्गको सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा ‘ब्रेक थ्रु’ गरिएको हो ।
२०७६ कात्तिकबाट निर्माण थालिएको सुरुङमार्गको लम्बाइ २ हजार ६ सय ८८ मिटर छ । ‘ब्रेक थ्रु’ का लागि दुई मिटर बाँकी राखिएको थियो । सोमबार प्रधानमन्त्री दाहालले स्विच थिचेर सुरुङ ‘ब्रेक थ्रु’ गरे । नागढुंगा र सिस्नेखोलाको दुवैतर्फबाट खनिएको सुरुङ सोमबार छिचोलिएको हो । यसरी सुरुङ छिचोलिए पनि तत्काल सवारीसाधन आवतजावत भने हुने छैन ।
माथिल्लो मर्स्याङ्दी जलविद्युत् आयोजनाले आफ्नो प्रयोजनका लागि लमजुङमा बनाएको ३ सय ४० मिटर लामो सुरुङमा यातायात चल्छन् । तर, यो व्यावसायिक सडक प्रयोजनमा बनेको होइन ।
माथिल्लो तामाकोसी आयोजनाले बनाएको ३ सय ३७ मिटर लामो सुरुङमा पनि यातायात चल्छन् । तर, नागढुंगा भने व्यस्त राजमार्गमा बनेको पहिलो र सबैभन्दा लामो सुरुङ मार्ग हो । संख्यात्मक हिसाबले नागढुंगा टनेल नेपालको चौथो सुरुङमार्ग हो ।
आधुनिक नेपालमा सबैभन्दा धेरै सुरुङ विकास जलविद्युत् आयोजनामा भयो । उक्त खोज प्रतिवेदन अनुसार जलविद्युत्, सिँचाइ, खानेपानी र सडक आयोजनामा गरी अहिले करिब २ सय ८० किलोमिटर सुरुङ बनिसकेको छ । नागढुंगा–सिस्नेखोला सुरुङको कुल लम्बाइ २ हजार ६ सय ८८ मिटर छ । यो आयोजनाको रेस्क्यु टनेलको भने एक वर्ष अगाडि नै ब्रेक थ्रु भएको हो । यहाँ २ हजार ५ सय ५७ मिटर लामो रेस्क्यू टनेल छ ।
सुरुङबाहेक यहाँ फ्लाइओभर, पुल, बक्स कल्भर्ट, अन्डरपास र ओभरपास समेत कुल १२ वटा थप संरचना बनिरहेका छन् । यी संरचनाको काम सकेर पूर्णता दिन अर्को एक वर्ष लाग्ने छ ।
यहाँ सुरुङभित्र र बाहिर सुरुङमार्गसँग सम्बन्धित अन्य काम भने पूरा हुन बाँकी छ । सुरुङमार्ग निर्माण आयोजनाका उपनिर्देशक गोविन्द डुमरुका अनुसार सुरुङ छिचोलिएको कम्तीमा एक वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य लिइएको छ ।
प्रधानमन्त्री दाहालले नागढुंगा क्षेत्रमा हुने ट्राफिक जाम, उकालो सडक, सुरक्षाका हिसाबले कायम रहेको जोखिमका साथै वर्षायाममा हुने पहिरोको उच्च जोखिम लगायत समस्या समाधान गर्न यो आयोजना परिकल्पना गरिएको बताए ।
यसले उपत्यकाबाट बाहिरिने सडकको अवस्था सुधार गरी यात्रा समय र यातायात सञ्चालन खर्च घटाउने समेत उनले बताए । यो सुरुङमार्ग नेपाली माटो सुहाउँदो सुरुङ सम्बन्धी दस्तावेज बन्ने समेत उनको भनाइ छ ।
नेपालमा सडक सुरुङमार्गका रूपमा पहिलो सुरुङ मकवानपुरमा रहेको चुरियामाई सुरुङमार्गलाई लिइन्छ । नेपाल आर्थिक पत्रकार समाज ९सेजन० र पोलिसी इन्टरप्रेनर्स इन्कर्पोरेटेड ९पीपीआई० ले संयक्त रूपमा गरेको विदेशी लगानीका पूर्वाधार आयोजना सम्बन्धी खोज अध्ययन पुस्तकमा उल्लेख भएअनुसार चुरियामाई सुरुङमार्ग निर्माण सन् १९१७ मा चन्द्र शमशेरले बनाएका हुन् । त्यसपछि सडकमा सुरुङ प्रयोग ठप्प भयो ।
प्रतिकृया दिनुहोस