आजदेखि आर्थिक वर्ष शुरु, करका दरसमेत आजैदेखि लागु हुँदै
काठमाडौं । आजदेखि आर्थिक वर्ष २०८०/८१ सुरु भएको छ । नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले घोषणा गरेका विभिन्न कर सम्बन्धी व्यवस्था कार्यान्वयनमा आएका छन् ।
नयाँ आव सुरु भएसँगै बजेटमार्फत घोषणा गरिएका नयाँ कार्यक्रम र आर्थिक नीति कार्यान्वयनमा आउँछन् । संवैधानिक व्यवस्था अनुसार सरकारले यस आवका लागि जेठ १५ गते नै बजेट प्रस्तुत गरिसकेको छ ।
चालु आवका लागि सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपियाँको बजेट सार्वजनिक गरेको हो । जसमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ तीन खर्ब दुई अर्ब सात करोड र वित्तीयतर्फ तीन खर्ब सात अर्ब ४५ करोड रुपियाँ खर्च हुने सरकारको अनुमान छ ।
खर्च बेहोर्ने स्रोतमध्ये १२ खर्ब ४८ अर्ब ६२ करोड राजस्वबाट, दुई खर्ब ४० अर्ब आन्तरिक ऋणबाट, दुई खर्ब १२ अर्ब ७५ करोड वैदेशिक ऋणबाट र ४९ अर्ब ९४ करोड रुपियाँ अनुदानबाट प्राप्त हुने अनुमान सरकारको छ ।
आयकर ऐन २०५८ मा सरकारले गरेको संशोधित व्यवस्था अनुसार आज साउन १ गतेदेखि वाषिर्क ५० लाख रुपैयाँभन्दा बढी कमाउनेलाई ३९ प्रतिशत आयकर लाग्ने छ । यसअघि वाषिर्क २० लाख रुपैयाँभन्दा माथि कमाउनेहरुलाई ३६ प्रतिशत आयकर लाग्ने गरेको थियो ।
सरकारले पहिलोपटक सुरु गरेको विलासिता कर पनि आजैदेखि कार्यान्वयनमा आएको छ । सरकारले पाँचतारे वा सोभन्दा माथिका होटेल, रेस्टुरेन्ट तथा रिसोर्टहरुले प्रदान गर्ने सेवामा २ प्रतिशत विलासिता कर लगाएको छ । साथै सरकारले १० लाखभन्दा बढीको बहुमूल्य धातुमा पनि २ प्रतिशतकै दरले विलासिता शुल्क लगाएको छ ।
सरकारले आयातित मदिरा र १० लाख रुपैयाँभन्दा बढी मूल्यका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गहनामा समेत सोही दरमा कर लागु हुने बजेटमा उल्लेख छ । यस्तो कर होटल तथा रिसोर्टले सेवा प्रदान गरेको बेला नै असुल गर्नुपर्ने भएको छ । आयातित मदिराको भन्सार विन्दुमै पैठारीका बेला असुली हुनेछ भने १० लाखभन्दा बढीका धातुका गहना बिक्रेताले असुल गर्नुपर्ने छ ।
ट्राभल एजेन्सीहरुले बिक्री गर्ने वैदेशिक भ्रमण प्याकेजमा पाँच प्रतिशत पर्यटन शुल्क पनि आजदेखि कार्यान्वयनमा आएको छ । गत जेठ १५ गते सरकारले बजेट सार्वजनिक गरेलगत्तै भन्सार महसुल, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर, सडक निर्माण दस्तुर र मोबाइल फोनको दर्ता सम्बन्धी व्यवस्था भने कार्यान्वयनमा आइसकेका छन् ।
प्रतिकृया दिनुहोस