हटाइयो ‘आदिपुरुष’ बाट ‘सीता भारतमा जन्मिएकी हुन्’ भन्ने संवाद

काठमाडौं । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’बाट ‘सीता भारतमा जन्मिएकी हुन्’ संवाद हटाइएको छ ।
बिहीबार मात्र काठमाडौँका मेयर बालेन साहले उक्त संवाद नहटाए महानगरमा उक्त फिल्म चलाउन नदिने चेतावनी दिएका थिए । सो फिल्ममा नेपालकी छोरी सीतालाई भारतको भनेर भ्रम छर्न खोजिएको भन्दै नेपालमा विरोध भइरहेको थियो ।
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को ट्रेलरमा सीतालाई भारतकी छोरी भनिएको छ । रामायणअनुसार सीताको जन्म नेपालको जनकपुरमा भएको थियो र भगवान् राम आएर उनीसँग विवाह गरे ।
काठमाडौं महानगरपालिकाका मेयर शाहले निर्देशक ओम राउतको फिल्म ‘आदिपुरुष’मा राखिएको सीताको जन्मभूमिबारे भएको गल्ती नसच्याए कुनै पनि भारतीय फिल्म काठमाडौं महानगरमा रिलिज गर्न नदिने चेतावनी दिएका थिए । शाहले यो सच्याउन ३ दिनको समय तोकेका थिए ।
प्रतिकृया दिनुहोस