सकियो बालकृष्ण खाँडको बयान : खाँडले इजलासका २४ प्रश्नाको के दिए उत्तर (बयानको पूर्णपाठ)
काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जनाकै बयान सकिएको छ । बयानका क्रममा उनीहरुले आफुलाई र्य फसाउन खोजिएको भन्दै आयचनासमेत गरेका छन् ।
जिल्ला अदालत काठमाडौंमा शुक्रबार पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित तीन अभियुक्तको बयान गराइएपछि हिरासतमा रहेका सबैको बयान सकिएको हो । यसअघि अरु १५ जनाको बयान लिइसकिएको छ ।
यसअघि सरकारी वकिल कार्यालय र प्रहरीसमक्ष बयान गराउँदा एकअर्कालाई दोष लगाएका प्रतिवादीले पनि अदालतमा भने इन्कारी बयान दिएका छन् । अन्तिम दिन बयान दिएका नेपाली कांग्रेसका नेता खाँणले पनि अभियोग अस्वीकार गरेका छन् ।
खाँणलाई यसअघि अभियोगसाथ पेस गरिएका प्रमाण र सहप्रतिवादीका बयानका आधारमा इजलासले प्रश्न गरेको थियो । अन्य प्रतिवादीले जोडेका विषयमा खाँणले जानकार नरहेको जवाफ दिए । उनले आफू निर्दोष रहेको दाबी गर्दै न्यायको याचना गरे ।
बयान सकिएसँगै अब थुनछेक बहस सुरु हुनेछ । तर प्रतिवादीको बयान अध्ययनका लागि जिल्ला सरकारी वकिल कार्यालयले अदालतसँग केही दिन समय मागेको छ । थुनछेक बहस मंगलबारदेखि मात्रै हुने सम्भावना छ ।
यस्तो छ इजलासमा भएका सवाल–जवाफ
१) तपाईंको बाबुआमाको नामथर, तपाईंंको नाम, थर, उमेर, के हो ? स्थायी ठेगाना कहाँ हो ? सम्पर्क नं. के हो? तपाईं कुन पेसा, व्यवसाय वा संस्थामा संलग्न हुनुहुन्छ? विस्तृत विवरणसहित खुलाइदिनुहोस्।
जवाफ – मेरो बुबाको नाम नौइन्द्रबहादुर खाँण, आमाको नाम टोपकुमारी खाँण र मेरो नाम बालकृष्ण खाँण हो। मेरो उमेर ६२ वर्षको भयो। स्थायी ठेगाना लुम्बिनी प्रदेश, रुपन्देही जिल्ला, तिलोत्तमा नगरपालिका वडा नं ८ भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ७ चाबहिलमा बस्दछु। कृषि र समाज सेवा मेरो पेसा व्यवसाय हो।
२) तपाईं आज अदालतमा किन आउनुभएको हो?
जवाफ- गजेन्द्र बुढाथोकी समेतको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी मसमेत भएको ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराध मुद्दामा अभियोगपत्रसाथ बयानको लागि उपस्थित भएको हुँ।
३) तपाईंलाई तपाईंउपर लागेको अभियोग सुनाइन्छ, सो अभियोग उपर बयान दिन कर छैन, तपाईंंले दिएको दयान तपाईंकोविरुद्धमा प्रमाण लाग्नसक्छ, तपाईं बयान दिन तयार हुनुहुन्छ?
जवाफ– म बयान दिन तयार छु। मेरो बयान गरी पाऊँ।
४) तपाईंले यो भन्दा अगाडि कुनै फौजदारी अभियोगमा सजाय पाउनुभएको छ छैन? खुलाइदिनुहोस्।
जवाफ– मैले यसभन्दा अगाडी कुनै पनि फौजदारी कसुरमा सजाय पाएको छैन। हाल कुनै पनि मुद्दा विचाराधिन अवस्थामा समेत छैन।
५) तपाईको शारीरिक तथा मानसिक स्वास्थ्य अवस्था कस्तो छ? तपाईंलाई सोधिएको प्रश्नको जवाफ दिन सक्नुहुन्छ/हुन्न ? तपाईंले कानुन व्यवसायी राख्नुभएको छ/छैन? कानुन व्यवसायी राख्न सक्नुहुन्छ/हुन्न?
जवाफ- युरिक एसिड, प्रेसर र कोलेस्ट्रोलको औषधी नियमित रुपमा सेवन गरिरहेको छु। आँखासम्बन्धी समस्या छ। म मलाई सोधिएका प्रश्नहरूको जवाफ दिन तयार छु। कानुन व्यवसायी नियुक्त गरेको छु।
६) प्रतिवादीहरूमध्ये ककसलाई चिन्नुहुन्छ? निजहरूसँग लेनदेन रिसइबी/झगडा छ/छैन?
जवाफ –प्रतिवादीहरूमध्ये म टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, नरेन्द्र केसी, शमशेर मियाँ र आङटावा शेर्पालाई चिन्दछु। टोपबहादुर रायमाझीलाई राष्ट्रिय नेता भएकोले, टेकनारायण पाण्डे सचिव भएकोले, नरेन्द्र केसी मेरो पहिलाको निजी सचिव भएको कारणले, शमशेर मियाँलाई हज कमिटीको अध्यक्ष भएको कारणले र आङटावा नेपाली कांग्रेसको नेता भएको कारणले चिन्दछु। चिनेका प्रतिवादीहरूमध्ये कसैसँग लेनदेन, रिसइबी र झैझगडा छैन। अरु प्रतिवादीहरूलाई म चिन्दिनँ। नचिनेका प्रतिवादीहरूसँग रिसइबी र झैझगडा हुने कुरा नै भएन।
७) जाहेरवाला गजेन्द्र बुढाथोकीसमेत विभिन्न जाहेरवालाहरूले तपाईं समेतको योजनामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भनी रकम लिई अमेरिका नपठाई रकम फिर्तासमेत नगरी ठगी गरेको भने बेहोराहरू उल्लेख गरी जाहेरी दिएका छन्। सो सम्बन्धमा तपाईंलाई के थाहा छ? को को भई के कसरी जाहेरी दरखास्तमा उल्लेख गरेअनुसारको कसुर गर्नुभएको हो? खुलाइदिनुहोस्।
जवाफ – गजेन्द्र बुढाथोकी समेतका कुनै पनि जाहेरवालाहरूलाई म चिन्दिनँ। मैले चिन्दैन नचिनेका र मसँग कुनै सम्पर्क नै नभएका व्यक्तिहरूसँग ठगी गरेको भन्ने जाहेरी बेहोरा झुट्टा हो। सो सम्बन्धमा मलाई कुनै जानकारी नै छैन। ममाथि लगाइएको उक्त आरोप नियोजित र कपोकल्पित छ।
८) तपाईंलाई सहप्रतिवादीहरू केशवप्रसाद दुलाल, सानु भण्डारी, नरेन्द्र केसी, आङटावा शेर्पा, टेकनारायण पाण्डे र टेकनाथ रिजालसमेतका प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्ष गरेको बयान तथा थप बयानसमेत पढी वाची सुनाइन्छ। निजहरूले गरेको उक्त बयानहरूको सम्बन्धमा तपाईंको के भनाइ छ? खुलाइदिनुहोस्।
जवाफ– प्रतिवादी टेकनारायण पाण्डेले अनुसन्धानको क्रममा थप बयानमा लेखाएबमोजिम मसँग केशवप्रसाद दुलालको प्रत्यक्ष भेटघाट भएको भनिएको कुरा झुट्टा हो। कसैमार्फत उनीसँग मेरो कुराकानी र लेनदेन भएको भन्ने कुरा सरासर झुट्टा हो। टेकनाथ रिजालको अनुसन्धानको क्रममा भएको बयान बेहोरा सम्बन्धमा मलाई कुनै जानकारी भएन। प्रतिवादी नरेन्द्र केसीले अनुसन्धानको बयानमा खुलाएबमोजिमको कागजको सम्बन्धमा को कसलाई किन लेखिएको हो, मलाई कुनै जानकारी भएन। प्रतिवादी आङटावाको अनुसन्धानको बेहोरा सम्बन्धमा मलाई कुनै जानकारी छैन।
९) प्रतिवादी आङटावा शेर्पाले गर्नुभएको कागज बेहोरा सम्बन्धमा तपाईंको भनाइ के छ? खुलाइदिनुहोस्।
जवाफ– प्रतिवादी आङटावा शेर्पाले लेखाउनुभएको कागज बेहोरा सुनी पाएँ। सो सम्बन्धमा आङटावा शेर्पासँग मेरो कुनै कुरा पनि भएको छैन र बयान बदल्न पनि लगाएको छैन। मैले पीडितलाई रकम फिर्ता गर्न भनी नरेन्द्र केसीमार्फत आङटावा शेर्पालाई रकम दिएको भन्ने बेहोरा झुट्टा हो। उहाँले केका आधारमा कागजमा यस्तो बेहोरा लेखाउनुभयो, सो सम्बन्धमा जानकारी भएन।
१०) तपाईंले अधिकारप्राप्त अधिकारीसमक्ष गर्नुभएको सबै बयानहरू बेहोरा पढी वाची सुनाइन्छ, सो बयानहरूको बेहोरा तपाईंको हो वा होइन? र, उक्त बयानहरूमा भएका सहीछापहरू तपाईंका हुन् वा होइनन्?
जवाफ- मैले अनुसन्धान अधिकारीसमक्ष गरेको भनिएको बयान बेहोरा (नेपाली कागज) देखाइएको साँचो हो। सोमा भएको सहीछापसमेत मेरो हो।
११) अनुसन्धानका क्रममा बुझिएका बालकृष्ण पन्थी, सागरमणि पाठक फणिन्द्रमणि पोखरेल समेतका व्यक्तिहरूले अनुसन्धानको क्रममा गरेको कागज बेहोरा पढी वाची सुनाइन्छ। निजहरूको भनाइ बेहोरा के कसो हो? खुलाइदिनुहोस्।
जवाफ– बुझिएका व्यक्तिहरू बालकृष्ण पन्थी, सागरमणी पाठक र फणिन्द्रमणि पोखरेलको कागज सम्बन्धमा मलाई कुनै जानकारी भएन।
१२) प्रतिवादी नरेन्द्र केसीको अदालतसमक्ष भएको बयानको सम्बन्धमा तपाईंको भनाइ के छ? खुलाइदिनुहोस्।
जवाफ– उक्त कागजहरू कसले कसलाई सम्बोधन गरी लेखेका हुन्, त्यसको प्रयोजन के हो, मलाई थाहा भएन।
१३) मिसिल संलग्न रहेको गृह मन्त्रालयको च.नं. ८४० मिति २०८०/०१/२६ को पत्रसाथ प्राप्त भएको भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरू पहिल्याउन गठित कार्यदलको प्रतिवेदन र गृहमन्त्रालयको च.नं. ८४३ मिति २०८०/०१/२६ को पत्रसाथ प्राप्त प्रतिवेदन तपाईंलाई देखाइन्छ। दुवै प्रतिवेदन एकै बेहोराका हुन् वा फरक हुन्, के कसो हो ? खुलाइदिनुहोस्।
जवाफ– गृह मन्त्रालयबाट एउटै मितिमा फरक-फरक चलानीमा प्राप्त भएको उक्त प्रतिवेदनहरू हेरी पाएँ। प्रतिवेदनका सम्बन्धमा मलाई कुनै जानकारी भएन। मन्त्रालयको कागजपत्र, प्रतिवेदन र विविध लिखतहरू राख्ने र सुरक्षा गर्ने सम्बन्धित महाशाखा र शाखाहरूको जिम्मेवारी हो। उक्त प्रतिवेदनहरू सम्बन्धमा मलाई कुनै जानकारी भएन।
१४) तपाईंलाई प्रेमराज पन्थीको जाहेरी दरखास्त देखाइन्छ, जाहेरी सम्बन्धमा तपाईंको भनाइ के छ? खुलाइदिनुहोस्।
जवाफ– प्रेमराज पन्थीलाई म चिन्दिनँ। केशव दुलाललाई समेत म चिन्दिनँ। उनीहरूको बीचमा के कस्तो कुराकानी र लेनदेनको कुरा हुन्थ्यो, सो कुरा मलाई जानकारी हुने विषय नै भएन। यसमा म संलग्न छैन। सो जाहेरी दरखास्त सम्बन्धमा मलाई कुनै जानकारी भएन।
१५) अनुसन्धानका क्रममा ना.सु. सुरेन्द्रराज दाहालले मिति २०८०/०१/२४ मा गरेको कागज पढी वाची सुनाइन्छ, के कसो हो? खुलाइदिनुहोस्।
जवाफ – अनुसन्धानका क्रममा ना.सु.सुरेन्द्रराज दाहालले गरेको कागज बेहोरा सुनी पाएँ। सुरेन्द्रराज दाहाललाई मैले चिनेको र कहिल्यै कुनै काम गर्दिनू पनि भनेको छैन। कर्मचारी सरुवा सम्बन्धमा नेपाल सरकार गृह मन्त्रालयको स्पष्ट नीति छ। विभागीय प्रमुख, प्रथम श्रेणीका अधिकृतहरू र प्रमुख जिल्ला अधिकारीहरूको सरुवा मन्त्रीस्तरबाट हुन्छ। तत् मातहत कर्मचारीहरूको सरुवा विभिन्न तहहरूबाट हुन्छ। तसर्थ ना.सु. सुरेन्द्रराज दाहालको सरुवा मैले गरे/गराएको होइन। उनको रमाना पदस्थापनका लागि पनि कुनै अधिकृतलाई भनेको छैन।
१६) गृह मन्त्रालयको च.नं.८४३ मिति २०८०/०१/२६ को पत्रसाथ प्राप्त प्रतिवेदनमा प्रतिवेदनको पृष्ठ ३ को ६ नं. बुँदामा अन्तिम वाक्यको बेहोरा थप गरेको; पृष्ठ १० को २.५ नं. बुँदामा फरक बेहोरा देखिएको, पृष्ठ १३ को क्र.नं.(क.अ.) नं १४ को ग नं. को दोस्रो पाराग्राफको पृष्ठ १६ को ३.६३.६.१ र ३.६.२ पृष्ठ नं. १७ र पृष्ठ नं.१८ को अन्तमा निष्कर्ष बेहोरा फेरबदल भएको प्रतिवेदन गृह मन्त्रालयको च.नं. ८४३ मिति २०८०/०१/२६को पत्रसाथ प्राप्त भएको देखिन्छ। ती दुई प्रतिवेदनहरूमध्ये कुन प्रतिवेदन आधिकारिक हो? खुलाइदिनुहोस्।
जवाफ – प्रतिवेदनको सम्बन्धमा मलाई कुनै जानकारी भएन। मन्त्रालयको कागजपत्र, प्रतिवेदन र विविध लिखतहरू राख्ने र सुरक्षा गर्ने सम्बन्धित महाशाखा र शाखाहरूको जिम्मेदारी हो। तसर्थ प्रतिवेदनना फेरबदल भएका बुँदाहरूका सम्बन्धमा राख्नेहरूले नै जिम्मेवारी लिनुपर्ने हो। परिवर्तन सम्बन्धमा सलाई थाहा हुने कुरा भएन।
१७) तपाईंको मोबाइल परीक्षणबाट उक्त मोबाइल रिफ्याक्ट्री भएको देखिन्छ। तपाईंले प्रस्तुत मुद्दासँग प्रमाण लाग्ने तथ्यहरू मोबाइलबाट हटाउनका लागि मोबाइल फर्म्याट गर्नुभएको त होइन? के कसो हो, खुलाइदिनुहोस्।
जवाफ– यस सम्बन्धमा मलाई कुनै जानकारी भएन। प्रमाण मेटाउने कुनै कार्य गरेको छैन।
१८) काठमाडाैं जिल्ला, काठमाडाैं महानगरपालिका बडा नं. ७ मैजुबहालमा रहेको श्यामजंग सिजापतीको घरमा भाडामा बस्ने बालकृष्ण खाँणको कोठा खानतलासी गर्दा कोठामा खैरो रंगको नोटबुक थान–१, कालो रंगको डायरी थान ३, आइप्याड थान–२, सम्पति विवरण फारम पाना–३८, च्यातिएर ३ टुक्रा पारिएको कागज जोड्दा नरेन्द्रजीसमेत लेखिएको भनी लेखिएको कागजको टुक्रा पारिएको कागज फेला परेको भन्नेसमेत बेहोराको बरामदी खानतलासी मुचुल्का मिसिल सामेल रहेको देखिन्छ। सो बरामदी मुचुल्काको बेहोरा के कसो हो? खुलाइदिनुहोस्।
जवाफ – खैरो रंगको नोटबुक थान–१ कालो रंगको डायरी थान– ३, आइप्याड थान– २, सम्पत्ति विवरण फारम पाना– ३८ बरामद भएको साँचो हो। च्यातिएको कागज टुक्रा सम्बन्धमा मलाई कुनै जानकारी भएन।
१९) तपाईंलाई हिरासतबाट टेकनारायण पाण्डेले तपाईंले पीडितलाई रकम फिर्ता गर्नुपर्ने र प्रतिवादी केशवप्रसाद दुलाल र सानु भण्डारीलाई इन्कारी बयान गर्न लगाउनुभएको भन्ने बेहोराको लिखत मिसिल सामेल रहेको देखिन्छ। सो सम्बन्धमा तपाईंको भनाइ के छ?
जवाफ – यस बारेमा मैले कसैलाई केही भनेको छैन।
२०) तपाईंउपर मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) अन्तर्गतको कसुरमा सोही संहिताको दफा २४९ को उपदफा (३) को खण्ड (ग) बमोजिम सजाय हुन, मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ को उपदफा (१) र (२) बमोजिमको कसुरमा सोही संहिताको दफा २७६ को उपदफा (३) (ग) बमोजिम सजाय हुन, मुलुकी अपराध संहिता, २०७४ को दफा ५१ को उपदफा (१) र (२) को खण्ड (क) बमोजिम राज्यविरुद्धको कसुरमा सोही संहिताको दफा ५१ को उपदफा (क) को देहाय (क) बमोजिम सजाय हुन र संगठित अपराध निवारण ऐन, २०७० को दफा (३) को उपदफा (१) (२) र (३) को खण्ड (क) तथा दफा (५) बमोजिमको कसुरमा सोही ऐनको दफा (९) को खण्ड (क) र (ग) बमोजिम सजाय हुन र मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को उपदफा (१) बमोजिमको कसुरमा सोही संहिताको दफा ४३ को उपदफा (२) बमोजिम सजाय हुन समेतको अभियोग माग दाबी लिइएको छ र जाहेरवालाहरूको अठ्ठाइस करोड एकासी लाख चौहत्तर हजार रकमसमेत तपाईं समेतबाट दिलाई भराई दिनसमेतको अभियोग माग दाबी लिइएको अभियोगपत्र छ। सो अभियोग माग दाबीबमोजिम तपाईंलाई सजाय हुनुपर्ने हो/होइन? र, जाहेरवालाहरूको रकम तपाईंसमेतले फिर्ता दिनुपर्ने हो वा होइन? सम्पूर्ण बेहोरा खुलाइदिनुहोस्।
जवाफ– मैले मउपर दायर भएको अभियोग माग दाबी सुनी पाएँ। मविरुद्ध लगाइएका सबै अभियोग माग दाबीहरू कपोकल्पित र झुटा हुन्। मेरो व्यक्तिगत र राजनीतिक जीवन सिध्याउन राज्यले रचेको षड्यन्त्र हो। माथि अभियोगमा दाबी लिइएको कुनै पनि कसुरमा मेरो कहीँ कतै संलग्नता छैन। यी कसुरहरू गर्नमा कसैलाई प्रोत्साहन र प्रेरित गरेको छैन। जिल्ला सरकारी वकील कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता, जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृत प्रहरी उपरीक्षकले ठगीको कसुर र संगठित अपराधको कसुरमा बयान लिएर अन्य कसुर र राज्यविरुद्धको कसुरमा समेत अभियोग लगाइएको छ। यो सरासर स्वच्छ सुनुवाइ र प्राकृतिक न्यायको सिद्धान्तविपरीत हो। मलाई फसाउने उद्देश्यले यी सबै झुट्टा आरोप र मुद्दाहरू लगाइएका हुन्। यस सम्बन्धमा मैले न्यायमूर्तिसँग न्यायको याचना गर्दछु। उक्त कसुरमा मेरो संलग्नता नरहेको हुँदा अभियोग माग दाबीबाट फुर्सद दिलाइपाऊँ । सफाई पाऊँ।
२१) तपाईंको परिवारमा कति सदस्य हुनुहुन्छ? आर्थिक अवस्था सम्बन्धमा खुलाइदिनुहोस्।
जवाफ – मेरो परिवारमा म, श्रीमती, छोरा, छोरी र मेरो आमा गरी पाँचजनाको सदस्य छौँ। बुटवलमा एउटा घर छ। सो घरबाट घरभाडा आउँछ। जग्गा जमिनबाट पनि भाडा आउँछ। जग्गा जमिनबाट केही कृषिजन्य उत्पादन हुन्छ। काठमाडौं अनामनगरमा एउटा पुरानो घर छ। सोबाट समेत भाडा आउँछ । कोटेश्वरको सुविधानगरमा भएको जमिनबाट भाडा आउँछ। यी आम्दानीहरूबाट हाम्रो जीवन सहजसँग चलेको छ।
(२२) तपाईंको साक्षी प्रमाण केही छ कि? खुलाइदिनुहोस्।
जवाफ– मेरो निम्न साक्षी प्रमाण बुझी पाऊँ :
(क) चितवन जिल्ला, भरतपुर महानगरपालिका वडा नं. ३ बस्ने अन्दाजी वर्ष ६१ को दीर्घमान
(ख) काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३० बस्ने अन्दाजी वर्ष ५९ को राधा घले
(ग) पोलखा जिल्ला, भीमेश्वर नगरपालिका वडा नं.२ बने अन्दाजी वर्ष ४६ को अनुप प्रधान
२३) तपाईंको अरु केही भन्नु छ कि?
जवाफ– म पहाड स्याङ्जामा जन्मिएको र हुर्किएको नागरिक हुँ। विद्यार्थीकालदेखि नै राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकताका लागि प्रतिबद्ध प्रजातन्त्र र जनाधिकार र स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रताको लागि संघर्ष गरेको व्यक्ति हुँ। प्रजातन्त्र प्राप्तिका लागि संघर्ष गर्दा विभिन्न समयमा जेलनेल पनि गएको छु। राष्ट्र, राष्ट्रियता, राष्ट्रहित र राज्यविरुद्ध सोच्न पनि सक्दिनँ। म गाउँबाट आएको एउटा व्यक्ति, आफ्नो मेहनत राष्ट्र र जनताप्रतिको समर्पण र प्रजातन्त्रप्रतिको प्रतिबद्धताले उठेको मान्छे हुँ। विद्यार्थीकालमा त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको सभापति निर्वाचित हुँदै नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्षको जिम्मेवारी, जनआन्दोलन २०४६ को समयमा सम्हालेको हुँ। मैले २०५४ सालमा नेपाल तरुण दलको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हालेको हुँ।
म २०४८ सालमा प्रतिनिधि सभाको सदस्य २०६४ साल र २०७० संविधान सभाको सदस्य, २०७४ मा प्रतिनिधि सभाको सदस्य तथा विभिन्न मितिमा चारपटकसम्म मन्त्रीको जिम्मेदारी सम्हाल्ने मौका पाएँ। मैले पछिल्लोपटक गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दा संविधान र कानुनको पालना गर्दै देशमा शान्ति, सुव्यवस्था र अमनचयन कायम गर्ने भूमिका निर्वाह गरेको छु। म विभिन्न रोगहरूको निवारणको लागि नियमित औषधीहरू सेवन गरिरहे पनि हालसम्म मैले राज्यकोषबाट उपचार खर्चसमेत लिएको छैन। म ईश्वरमा विश्वास गर्दछु। धार्मिक प्रवृत्तिको व्यक्ति हुँ। जनतालाई झुक्याउने, अनुचित लाभ लिने कुनै कार्य गर्नेबारे सोच्न पनि सक्दिनँ ।
(२४) माथि उल्लिखित बेहोरा पढी वाची सुनाइन्छ। बेहोरा कसो भयो ? खुलाइदिनुहोस्।
जवाफ– माथि लेखिएका सबै बेहोरा मैले भनेबमोजिम लेखिएको हो ।
प्रतिकृया दिनुहोस