५० वर्ष पुरानो बस्तीमा नगरपालिकाले चलायो १० वटा डोजर, सपिङ कम्प्लेक्स बनाउने तयारी
धरान । सुनसरीको दुहबी नगरपालिकाले ५० वर्ष पुरानो बस्तीमा डोजर चलाएको छ । दुहबी नगरपालिका –५ दुहबी बजारको पुरानो बस्तीमा मंगलबार एकै पटक १० वटा डोजर चलाएर नगरपालिकाको ९ कट्ठा साढे ९ धुर जग्गामा निर्माण भएको संरचना हटाएर खाली गराएको छ ।
डोजर प्रयोग गरेर खाली गराइएको क्षेत्रमा २०३० साल भन्दा अगाडिदेखि बसोबास गरिरहेका मानिसहरु थिए । सुरुमा झुप्रा संरचना बनाएर बसेको पातलो बस्तीमा बजार बढेपछि संरचना र बस्ती थपिएको थियो ।
स्थानीयको अवरोधका कारण विराटनगर धरान जोड्ने ६ लेन सडकको काम दुहबी खण्डमा अगाडि बढेको छैन । दुहबीबाट दक्षिण तर्फको क्षेत्रमा ६ लेन सडक निर्माणको काम भइरहेको छ । उत्तरतर्फ पनि काम अन्तिम चरणमा छ ।
दुहबी बजार क्षेत्रको करिब २ किलोमिटर खण्डमा सडक विस्तारको काम अघि बढेको छैन । सडक निर्माण नहुँदा दुहबी बजार क्षेत्रमा ट्राफिक जाम छ । नगरपालिकाले खाली गराएको क्षेत्र ६ लेन सडकको क्षेत्रभित्र नै पर्छ ।
नगरपालिकाको नाममा रहेको जग्गामा निर्माण भएको संरचना खाली गराउन सूचना जारी गरे पनि स्थानीय वासिन्दाले ठाउँ छाड्न मानेका थिएनन् । नगरपालिकाले एक्कासी डोजर प्रयोग गर्दा दुहबी बजार क्षेत्र मंगलबार दिनभर तनाबग्रस्त बनेको थियो ।
नगरपालिकाले आफ्नो स्वामित्वमा रहेको जग्गामा बनेको संरचना हटाउन गत पुसमा ३५ दिने सूचना जारी गरेको थियो । तर सो क्षेत्रका बासिन्दाले पुस १५ गते उच्च अदालत विराटनगरमा नगरपालिकाको सूचना विरुद्ध रिट दायर गरेका थिए ।
वैशाख ४ गते उच्च अदालतका न्यायाधीश कृष्णकमल अधिकारी र किरणकुमारी गुप्ताको इजलासले रिट खारेज गरेपछि नगरपालिकालाई संरचना भत्काउने बाटो खुलेको थियो । रिट खारेज भएपछि कार्यपालिका बैठक बसेर भत्काउने निर्णयलगत्तै डोजर प्रयोग भएको चौधरीले बताए ।
संरचना हटाएको स्थानमा व्यापारिक कम्प्लेक्स निर्माण गर्ने पालिकाको तयारी छ । अब सपिङ कम्प्लेक्स निर्माण भएपछि विस्थापितलाई नै मलभित्र व्यवसाय गर्नका लागि प्राथमिकतामा राखिने नगरपालिकाले जनाएको छ ।
प्रतिकृया दिनुहोस