प्रचण्डले बोलाए संवैधानिक परिषदको बैठक, प्रधानन्यायाधीश नियुक्ती गर्ने तयारी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठक बोलाएका छन् । शुक्रबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी बैठकले प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने तयारी रहेको छ ।
सोमबार बिहानको बैठकमा प्रधानमन्त्रीले प्रधानन्यायाधीश नियुक्तिको संवैधानिक प्रक्रियाका लागि पहल गरेका थिए । सोही बैठकमा संवैधानिक परिषद्को बैठक बोलाउने र प्रधानन्यायाधीशको विषयमा निर्णय गरेर अगाडि बढ्ने सहमति भएको थियो ।
बैठक आह्वानका लागि सोमबार बिहान प्रधानमन्त्रीसहित कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली र सभामुख देवराज घिमिरेबीच छलफल भएको थियो ।
चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि प्रधानन्यायाधीश पद रिक्त छ । हाल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की रहेका छन् । प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना सदस्य छन् ।
प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि बस्ने संवैधानिक परिषदको बैठकमा भने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सदस्य रहनेछन् । हाल कानुनमन्त्री पद पनि रिक्त छ ।
प्रतिकृया दिनुहोस