मधेश प्रदेशका मुख्यमन्त्रीले बुझेनन् हरवाचरवाको ज्ञापन
जनकपुर । चैत २५ गतेदेखि पर्सा र सप्तरीबाट एकैसाथ सुरु भएको हरवाचरवाको अधिकार यात्रा न्यायिक पुनःस्थापनाको मागसहित जनकपुरधाम आइपुगेको छ । हजारौंको संख्यामा सहभागी हरवाचरवाको ६ बुँदे मागसहितको अधिकार यात्रा मधेशको राजधानी जनकपुरधाम आइपुगेको हो ।
दुई समूहमा विभाजन गरी सप्तरीको राजविराजबाट सुरु भएको पहिलो समूहको सो यात्रा लहान, बस्तीपुर, गोलबजार, औरही, गणेशमान चारनाथ, शहिदनगर हुँदै मंगलबार जनकपुरधाम पुगेको हो ।
वीरगन्जबाट निस्केको अर्को टोली पनि बहुदरमाई, जितपुर, कलैया, करैयामाई, कोल्भी, बलचनपुर, गरुडा, गौर, मंलगवा, ब्रह्मपुरी, जलेश्वर हुँदै जनकपुरधाम आइपुगेको राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका केन्द्रीय अध्यक्ष दशनलाल मण्डलले जानकारी दिए ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गत साउन २ गते नेपालमा हरवाचरवा प्रथा मुक्त भएको घोषणा गरेपनि व्यवहारमा भने अझै कार्यान्वयन भएको छैन । सो प्रथा मुक्त घोषणा भइसक्दासमेत कागजमै सीमित भएपछि उनीहरूले पुनर्स्थापनाको माग गर्दै मधेश प्रदेशमा पाँचदिने अधिकार यात्राको शुरुवात गरेका थिए ।
अधिकार यात्राका क्रममा करिब १० हजार बढी हरवाचरवा र शुभचिन्तकमा पुगेर संकलन गरिएको माग र उनीहरुको बाहुल्य रहेको पालिकामा गई सम्बन्धित पालिका प्रमुखबाट लिइएको प्रतिबद्धतासहित मुख्यमन्त्री सरोजकुमार यादवलाई ज्ञापनपत्रसमेत हस्तान्तरण गर्ने कार्यक्रम रहे पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय क्षेत्रमा उनीहरुलाई प्रवेश गर्न दिइएको थिएन ।
प्रतिकृया दिनुहोस