बालेनले सिंहदरबारको फोहोर नउठाउँदा शितल निवासमा तरंग, वार्ता गर्न गगनले गरे प्रस्ताव
काठमाडौं । शुक्रबार गैरीगाउँस्थित बागमती किनारको सुकुमबासी बस्तीमा डोजर चलाउन खोज्दा असहयोगको महसुस गरेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सिंहदरबारभित्रको फोहोर नउठाई दिएपछि राजनीतिक रुपमा तरंग फैलिएको छ । यसको तरंग राष्ट्रपति कार्यालयमा समेत परेको छ ।
सिंहदरबारको फोहोर नउठाउने घोषणा गर्दै मेयर साहले आधिकारिक फेसबुक पेजमा लेखेका थिए, ‘साँच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरूले सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’ त्यसयता सिंहदरवारभित्रको फोहोर उठेको छैन । सिंहदरवारभित्रको फोहोर नउठेपछि राष्ट्रपति कार्यालयले सोमबार बिहान फोहोर व्यवस्थापन गर्ने निजी संस्थालाई फोन गरेर फोहोर उठाइदिन अनुरोध गरेको छ ।
शीतल निवास र त्यस वरपरको क्षेत्रबाट फोहोर संकलन गर्दै आएको परिवर्तन सेवा प्रालिलाई शीतल निवासले टेलिफोन गरेर फोहोर उठाइदिन भनेको हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारबाट फोहोर नउठाउन निर्देशन दिएपछि अहिले प्रधानमन्त्री कार्यालयसहित सिंहदरबारभित्रका कार्यालयबाट पनि फोहोर उठेको छैन ।
फोहोरमैला उठाएर बञ्चरेडाँडामा लैजानुपर्ने भएकाले त्यहाँ महानगरले नलैजान निर्देशन नदिएसम्म परिवर्तन सेवा प्रालिले फोहोर नउठाउने बताएको छ । फोहोरमैला व्यवस्थापन संघका अनुसार सरकारी कार्यालयबाट दैनिक करिब ९ टन फोहोर संकलन हुन्छ । महानगरपालिकाले फोहोर नउठाउन दिएको निर्देशन कायम भएसम्म फोहोर नउठ्ने संघले जनाएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग तत्काल वार्ता गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।
मेयर बालेन शाहले संघीय सरकारप्रति असहमति प्रकट गर्दै सिंहदरबारभित्रको फोहोर नउठाउन निर्देशन दिएका छन् । सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै काठमाडौं–४ बाट निर्वाचित सांसद थापाले यस विषयमा तत्काल बालेन शाहसँग वार्ता गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।
संघीय सरकारले बनाउनुपर्ने कानुन नबनाउँदा र अन्तर तह समन्वय गर्नुपर्ने संयन्त्रहरुलाई सक्रिय नराख्दा स्थानीय तह र प्रदेशहरुले राम्रोसँग काम गर्न नसकेको थापाले बताए ।
प्रतिकृया दिनुहोस