रास्वपाका सांसद श्रेष्ठ र मेडिकल माफिया प्रसाईँबीचको अडियो काण्डले बबाल, गयो सांसद पद नै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ ।
आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सांसद श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंसँग रकम मागेका हुन् । कपुरबोट डटकमले सार्वजनिक गरेको अडियोमा सांसद श्रेष्ठले आफ्नो दलले स्वास्थ्य मन्त्रालय पाउने भएको र मन्त्री बन्नका लागि नेताहरुले आफूसँग साढे २ करोड मागेको बताएका छन् ।
कपुरबोट टीभी ले सार्वजनिक गरेको अडियोमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री आफ्नो पार्टीको भाग परेको श्रेष्ठले प्रसाईंलाई सुनाएका छन् । उनले प्रसाईंसँग दुई करोड रुपैयाँ व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । उनले तत्काल एक करोड भएपनि मन्त्री बनाउन सभापति लामिछाने तयार रहेको प्रसाईंलाई सुनाएका छन् ।
प्रसाईंले दुई करोड रुपैयाँ व्यवस्थापन गरिदिने तर पछि आफ्नो काम गरिदिनुपर्ने शर्त राखेका छन् । उनले मेडिकल व्यवसायी प्रसाईंलाई रकम दिए आफूले मिलेर काम गर्ने समेत बताएका थिए ।
ह्वाट्सएपमा भएको भनिएको संवादमा व्यवसायी प्रसाईंले पनि २ करोड सहयोग गर्ने, तर त्यसका लागि केही समय लाग्ने बताएका छन् । ‘तपाईंलाई मैले २ करोड रुपैयाँ दिने ग्यारेन्टी गरें’ प्रसाईंले भनेका छन्, ‘उनीहरुसँग टाइम माग्नुस्, म दिन्छु भन्नुस् ।’
प्रसाईंसँग आर्थिक माग गरेको अडिओ बाहिरिएपछि रास्वपाले सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बित गरेको छ । उनी समानुपातिक सांसद हुन् । पार्टीले निलम्बन गरेपपछि अब उनको सांसद पद पनि निलम्बन हुन सक्छ । तर रास्वपाले बनाएको छानबिन समितिले प्रतिवेदन बुझाएपछि सो प्रक्रिया सुरु गर्ने उनले जानकारी दिए ।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले अडियो सार्वजनिक भएकाले तत्कालका लागि सांसद र पार्टी सदस्यबाट निलम्बन गरिएको जानकारी दिए । यसबारेमा महामन्त्री मुलुक ढकालका तर्फबाट आधिकारिक विज्ञप्ति जारी हुने रास्वपाले जनाएको छ ।
प्रतिकृया दिनुहोस