पाटन क्याम्पसमा बागी उम्मेदवार विजयी, आधिकारिक उम्मेदवार थिङले पाए ३४६ मत
काठमाडौं । पाटन संयुक्त क्याम्पसमा सभापतिमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट विजयी भएका छन् । शनिवार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनवाट स्वतन्त्र उम्मेदवार बिष्ट बिजयी भएका हुन् ।
चैत ५ गतेको चुनावको लागि नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले सुशील विष्टलाई सभापतिको उम्मेदवारको टिकट दिएपछि विष्टले उम्मेदवारी दर्ता गराएका थिए । तर उक्त दिनको चुनाव स्थगित भएर २५ गते सरेपछि अध्यक्ष शेर्पाले युवराज लामालाई टिकट दिएपछि असन्तुष्ट विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
गत चैत ५ गते हुनु पर्ने निर्वाचन आन्तरिक कारणले स्थगित भए पछि शनिवार निर्वाचन गरिएको थियो । जुन निर्वाचनवाट बिष्ट ८४१ मतसहित बिजय भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले निकट अनेरास्ववियुका उम्मेदवार सुरेश जिसीले भने ६७२ मत पाए ।
स्ववियु निर्वाचनमा भोटिङ मेसिन प्रयोग गरिएको थियो । ६३७ मतसहित अखिल क्रान्तिकारीका वीरेन्द्र मगर (मदन) तेस्रो हुँदा नेविसंघका आधिकारिक उम्मेदवार युवराज लामा (थिङ) ३४६ मतसहित चौथो स्थानमा रहे । सभापति पदमा ६ जना प्रतिस्पर्धामा थिए । सभापतिका अन्य उम्मेदवार सन्तोष महर्जनले ८६ र अनिष महर्जनले ३३ मत पाए ।
सचिव पदमा अनेरास्ववियुका अविनाश भण्डारी ९८३ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी अशोक दुलालले ६५७ र नेविसंघका रुपक न्यौपानेले ६२० मत पाएका छन् ।
कोषाध्यक्ष पदमा पनि अनेरास्वयुविकै तिलक बहादुर कुमाल लोकप्रिय मतसहित विजयी भएका छन् । कुमालले १ हजार २४९ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेविसंघका रोहित कपालीले ७१२ मत पाएका छन् । दुई जना सदस्य अखिल क्रान्तिकारीका विजयी भएका छन् ।
प्रतिकृया दिनुहोस