काठमाडौं महानगरले सिंहदरवारको फोहोर नउठाउने, नेतालाई सिस्डोलमा डम्प गर्ने बालेनको घोषणा
काठमाडौं । अबदेखि काठमाडौं महानगरपालिकाले काठमाडौं देशकै प्रशासनिक निकाय रहेको स्थान सिंहदरबारभित्रको फोहोर नउठाउने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले राजनीतिक दलका नेताहरूप्रति कडा टिप्पणी गर्दै फोहोर नउठाउने चेतावनी दिएका छन् ।
शुक्रबार गैरीगाउँस्थित बागमती किनारको सुकुमबासी बस्तीमा डोजर चलाउन खोज्दा असहयोगको महसुस गरेका मेयर साहले आजदेखि सिंहदरबारलाई असहयोग गर्ने संकेत गरेका हुन् ।
आजदेखि सिंहदरबारको फोहोर नउठाउने घोषणा गर्दै मेयर साहले आधिकारिक फेसबुक पेजमा लेखेका छन्, ‘साँच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरूले सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’
काठमाडौं महानगरका वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठले भने यसबारे प्रतिक्रिया नदिने बताए । उनले भने, ‘मेयरसापको आधिकारिक पेजमा नै कुरा आएपछि त्यसै अनुसार बुझ्नुपर्छ ।’
काठमाडौं महानगरपालिकाले तीनकुनेस्थित गैरीगाउँ क्षेत्रको बागमती किनारमा रहेका सुकुम्बासी बस्ती हटाउन खोज्दा तनाव भएको छ । जसका कारण शुक्रबार दिउँसो काठमाडौं महानगरपालिकाको गैरीगाउँ क्षेत्र तनावग्रस्त बनेको थियो । गैरीगाउँको वाग्मती करिडोरस्थित सुकुम्बासी बस्ती हटाउन शुक्रबार डोजरसहित नगर प्रहरी लिएर गएको महानगरको टोलीलाई सुकुम्बासीहरूले फर्काइदिएका थिए । त्यसपछि मेयर साह आक्रोसित बनेका हुन् ।
प्रतिकृया दिनुहोस