प्रधानमन्त्री भेट्दा भक्कानिए मिटरव्याज पीडित, पीडितको समस्या समाधान गर्ने प्रतिवद्धता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै कार्यकालमा मिटरब्याज पीडितको समस्या समाधान गर्ने बताएका छन् ।
न्याय माग्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका मिटरब्याज पीडितको गुनासो सुनेपछि प्रचण्डले सरकारले कानून बनाएर दीर्घकालीन रुपमै यसको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
११ दिन हिँडेर केही दिनअघि काठमाडौँ आइपुगेका मिटरब्याज पीडित न्याय नपाएसम्म नफर्किने भनेर बसिरहेका छन् । उनीहरुसँग गृहमन्त्रालयले तीन चरणको वार्ता गरिसकेको छ ।
बालुवाटार पुगेका पीडितहरू आफ्ना दुःख सुनाउँदा भक्कानिएका थिए । १० लाख ऋणको २७ लाख तिर्दा पनि साहुले शारीरिक यातना सहितका कष्ट दिएको सुनाउँदै गर्दा एक महिला भक्कानिएकी थिइन् ।
प्रधानमन्त्री दाहालले सुरुदेखि नै आफूले गृह मन्त्रालयलाई यो मुद्दालाई सम्बोधन गर्न निर्देशन दिएको बताए । उनले भने, ‘मैले लगातार गृह मन्त्रालयलाई तपाईंहरूको माग गम्भीरताका साथ सुन्न निर्देशन दिँदै वार्ताका लागि पठाएको हुँ’ उनले भने, ‘गृहमन्त्रालय पनि हाम्रै साथीलाई दिइएको छ । उहाँले पनि मिटरब्याजी पीडितको समस्या समाधान गर्ने एजेन्डा पहिलो बनाउँछु भनेर बोलिसक्नु भएको छ । तपाईंहरूको समस्या समाधानका लागि सरकार गम्भीर छ ।’
मिटरब्याजीलाई ऐनद्वारा नै कारबाही गर्न र उनीहरूमाथि मुद्दा चलाउन सक्नेगरी ऐन तयारीको अन्तिम चरणमा रहेको दाहालले बताए । ‘यसमा दीर्घकालीन समाधान गर्ने भनेको ऐनको नै व्यवस्था छैन । मिटरब्याज पीडितहरुलाई न्याय दिने र मिटरब्याजीहरुलाई कारबाही गर्ने ऐनको नै अभाव छ’ उनले भने, ‘मैले यसपटक आउने बित्तिकै ऐन ड्राफ्ट गर्न लगाएँ र अहिले त्यो ऐन अन्तिम चरणमा छ । मिटरब्याजीलाई ऐनद्वारा नै कारबाही गर्न सकियोस्, उनीहरुमाथि मुद्दा चलाउन सकियोस् भनेर ऐन बनाउने प्रक्रिया अघि बढाइएको छ । मिटरब्याजीको समस्या अहिले समाधान भएन भने कहिल्यै पनि हुँदैन ।’
साहुकारहरूको विभिन्न सरकारी तह र राजनीतिक तहमा पनि साँठगाँठ भएकोमा आफू जानकार रहेको उल्लेख गर्दै उनले फिल्डमै गएर कारबाही गर्न सक्ने आयोग बनाइने बताए ।
मिटरब्याज समस्या सामन्तवादकै अवशेषका रूपमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यो ठूलो मुद्दा र लडाइँसमेत भएको बताए । उनले भने, ुतपाईंहरूको पूरै माग पूरा हुन्छ । यो कुनै जालझेलको कुरा होइन, समस्या समाधान गर्ने कुरा सामन्तवादको अवशेषबाट नेपाललाई मुक्त गर्ने कुरा हो भन्ने बुझेको छु मैले । यो ठूलो मुद्दा हो । यो ब्याटल जित्नुपर्छ, तपाईंहरूले जित्न पर्छ, हामी सबैले जित्नुपर्छ ।’
प्रतिकृया दिनुहोस