रामचन्द्र पौडेलको ढोक्सामा झ्याप्पै परे सुनीलबहादुर थापा : चुनाव हार्दा राजनीतिक सल्लाहकार !
काठमाडौं । बिहीबार नेपाली कांग्रेस त्याग्दै गर्दा स्वर्णिम वाग्लेले ‘कांग्रेस दाइ, भाउजु, साला, भतिजको अक्षम गिरोहमा परिणत हुँदैछ’ भनेर सामाजिक सञ्जालमा चेतावनीपूर्ण अभिव्यक्ति दिए ।
संयोग नै भन्नुपर्छ वाग्लेले सो चुनौतीपूर्ण अभिव्यक्ति दिएकै दिन राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो राजनीतिक सल्लाहकारमा नेपाली कांग्रेसको केन्द्रिय सम्पादन समितिका सदस्य सुनीलबहादुर थापालाई नियुक्त गरेका थिए । वाग्लेको भनाई थापाको नियुक्तसँग जोडिएर आएको छ ।
पूर्वपञ्च स्व. सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापा मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा नेकपा एमालेका केन्द्रिय सदस्य राजेन्द्र राईसँग पराजित भएका थिए । दोस्रोपटक पराजित भएपछि रन्थनिएका थापालाई राजनीतिक सल्लाहकार नियुक्त गरेपछि केही सान्त्वना मिलेको छ ।
दोस्रोपटक आफ्नै गाउँले राजेन्द्र राईसँग चुनावी भीडन्तमा उत्रिदा जिल्लामा ‘मन्त्री पक्का’ हुने भन्दै प्रचार गरिएको थियो । तर, चुनावका बेला उनी भने ‘जिते मन्त्री, हारे राजदूत’ बन्ने मानसिकतामा थिए । उनले नजिकका आफन्तहरुसँग सोही कुरा बोलेका पनि थिए । तर, करोडौं रुपैयाँ खर्च गरेर पनि निर्वाचनमा पराजित भएपछि रन्थनिएका थिए । अहिले मन्त्रीसरहको सुविधा पाउनेगरी राजनीतिक सल्लाहकारमा नियुक्त गरेपछि भने राहत मिलेको छ ।
हुन त राष्ट्रपतिको राजनीतिक सल्लाहकारमा नियुक्त भएका थापाको राजनीतिक पृष्ठभुमी भने त्यति लामो छैन । लामो समयमा संयुक्त राष्ट्रसंघको जागिरे थापा २०६९ सालमा मात्रै राजनीतिमा सक्रिय बनेका थिए । त्यो बेला सूर्यबहादुर थापाको विरासत जोगाउने भन्दै उनलाई राप्रपामार्फत सक्रिय राजनीतिमा उतारेका थिए । तर, उनले बुवाको विरासत जोगाउन भने सकेनन् ।
उनलाई कतिपयले अवसरवादी नेताको रुपमा चिन्छन् । दोस्रो संविधानसभाको निर्वाचनपछि दोस्रोपटक मन्त्री बन्नका लागि उनकै पहलमा पार्टी विभाजन गरिएको थियो । २०७७ सालमा नेपाली कांग्रेसमा प्रवेश गर्दा निक्कै तामझाम गरेका थिए । त्योबेला वार्गेनिङ मार्फत सहमहामन्त्री पदमा पुग्न सफल भएका थापा महाधिवेसनमा भने केन्द्रिय सदस्यमा खुम्चिएका थिए ।
चुनावमा पराजित भएपछि नेपाली कांग्रेसको कोषाध्यक्षमा वार्गेनिङ गर्दै आएका थापाले अहिले भने राजनीतिक सल्लाहकारमा बाजी मारेका छन् ।
सोर्सफोर्सकै बल
हुन त राजनीतिक नियुक्ती भनेकै सोर्सफोर्सले काम गर्ने हो । थापाको सवालमा पनि त्यसैले काम गरेको छ । आफ्ना बाबु ज्यूदो हुँदा २ पटक मन्त्री बनेका थापाले आफु मन्त्री बन्दा सोर्सफोर्सकै आधारमा धेरैलाई नियुक्ती दिलाएका थिए ।
उनी बन्दा मन्त्री बन्दा जसरी सोर्स लाग्थ्यो वा लगाइन्थ्यो, अहिले राष्ट्रपतिको राजनीतिक सल्लाहकार बन्दा आफैले ठूलो सोर्स लगाएका छन् । यतिसम्मकी उनी राजनीतिक सल्लाहकार बन्दा लाखौं रुपैयाँको आर्थिक चलखेल भएको कांग्रेसभित्रै चर्चा चलेको छ ।
प्रतिकृया दिनुहोस