नेपालको जनसंख्या पहाड र हिमालमा घट्दै, तराईमा बढ्दै : हिमाली क्षेत्रको जनसंख्या वृद्धिदर ऋणात्मक
काठमाडौं । जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ ।
राष्ट्रिय जनगणना २०७८ ले शहरी क्षेत्रमा बस्नेको संख्या बढ्दो रहेको देखाएको छ भने गाउँमा बस्नेको संख्या घट्दो रहेको छ । तथ्यांक विभागका अनुसार सहरी जनसंख्या भन्नाले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका क्षेत्रमा बसोबास गर्नेहरू हुन् भने गाउँको जनसंख्या गाउँपालिका क्षेत्रमा बसोबास गर्नेहरूको हो ।
२०७८ सालको अन्तिम नतिजा अनुसार नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । १० वर्षअघि नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो । जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत रहेको छ ।
२०७८ को गणनामा सहरी जनसंख्या ६६.१७ प्रतिशत छ भने गाउँको जनसंख्या ३३.८३ प्रतिशत छ । जबकी संघीय संरचनापछि स्थानीय तहलाई नगरपालिका र गाउँपालिकामा गरिएको वर्गीकरणको आधारमा २०६८ सालको जनसंख्यालाई समायोजन गर्दा नगरपालिकाहरुको जनसंख्या ६३.१९ प्रतिशत र गाउँपालिकाहरुको जनसंख्या ३६.८१ प्रतिशत रहेको थियो ।
१० वर्षमा कुल जनसंख्या २६ लाख ७० हजार ७४ ले वृद्धि हुँदा वृद्धिको अधिकांश हिस्सा तराई क्षेत्रले नै ओगटेको छ । भौगोलिक क्षेत्रअनुसार जनसंख्याको विवरण हेर्दा तराई क्षेत्रको २०६८ सालको तुलनामा ३.३४ प्रतिशतले बढेको छ ।
नेपालका ३४ जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक भएको छ । २०६८ सालको जनगणनामा जनसंख्या वृद्धिदर ऋणात्मक भएका जिल्लाको संख्या २७ वटा थियो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार जनसंख्या वृद्धिदर सबैभन्दा बढी ऋणात्मक हुने पाँच जिल्लाहरुमा रामेछाप, खोटाङ, मनाङ, भोजपुर र तेह्रथुम छन् । सबैभन्दा बढी रामेछापमा वार्षिक जनसंख्या वृद्धिदर माइनस १.६७ प्रतिशत छ । खोटाङमा माइनस १.५६, मनाङ र भोजपुरमा समान माइनस १.३९ तथा तेह्रथुममा माइनस १.३० प्रतिशत छ ।
जनसंख्या वृद्धिदर सबैभन्दा बढी धनात्मक हुने जिल्लामा भक्तपुर पहिलो नम्बरमा छ । भक्तपुरमा ३.३५ प्रतिशतले जनसंख्या वृद्धि भएको छ । यसैगरी रुपन्देहीमा २.३३, चितवनमा २.०७ तथा बाँके र झापामा समान १.९७ प्रतिशतको दरले जनसंख्या वृद्धि भएको छ । हिमाली जिल्लाहरुमध्ये मुगुमा सबैभन्दा बढी (१.४९ प्रतिशतले) वार्षिक जनसंख्या वृद्धि भएको छ ।
हिमाल र पहाडको तुलनामा हिमाली क्षेत्रको जनसंख्या वृद्धिदर ऋणात्मक छ । राष्ट्रिय जनगणना २०७८ को शुक्रबार सार्वजनिक भएको नतिजा अनुसार हिमाली क्षेत्रको जनसंख्या वृद्धिदर माइनस ०.०५ प्रतिशत छ । २०६८ को जनगणना अनुसार हिमाली क्षेत्रको जनसंख्या वृद्धिदर ०.५४ प्रतिशत थियो ।
राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार नेपालमा २०६८ देखि २०७८ को अवधिमा वार्षिक औसत ०.९२ प्रतिशतका दरले जनसंख्या वृद्धि भएको पाइएको छ । यो २०५८ देखि २०६८ सालको अवधिको वृद्धिदर (१.३५ प्रतिशत प्रतिवर्ष) को तुलनामा कम हो ।
वार्षिक जनसंख्या वृद्धिदर हेर्दा हिमाली क्षेत्रमा ऋणात्मक (–०.०५ प्रतिशत), पहाडी क्षेत्रमा न्यून मात्रामा धनात्मक (०.३० प्रतिशत) र तराई क्षेत्रमा अन्य क्षेत्रको तुलनामा उच्च धनात्मक (१.५४ प्रतिशत) वृद्धि रहेको छ ।
गत दश वर्षको अवधिमा नेपालको जनसंख्या १०.०८ प्रतिशतले वृद्धि भई २६ लाख ७० हजार ०७४ जना व्यक्ति थपिएका छन् । भौगोलिक क्षेत्रअनुसार १० वर्षको अवधिमा हिमाली क्षेत्रमा ०.५ प्रतिशतले जनसंख्या घटेको छ भने पहाडी क्षेत्रमा ३.१९ प्रतिशतले र तराई क्षेत्रमा १७.३८ प्रतिशतले जनसंख्या बढेको छ ।
गत दश वर्षको अवधिमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा १३.८४ प्रतिशत र सबैभन्दा कम गण्डकी प्रदेशमा २.६१ प्रतिशतले जनसंख्या थप भएको छ । यसैगरी मधेश प्रदेश र लुम्बिनी प्रदेशमा धेरै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा कम तथा बाग्मती र कोशी प्रदेशमा पहिलेकै हाराहारीमा जनसंख्या थप भएको छ ।
प्रदेशगत रुपमा २०६८ देखि २०७८ को एक दशकको वार्षिक जनसंख्या वृद्धिदर हेर्दा ७ वटा प्रदेशहरुमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १.२४ प्रतिशत र सबैभन्दा कम गण्डकी प्रदेशमा ०.२५ प्रतिशतले वार्षिक जनसंख्या वृद्धि भएको छ । दोस्रो धेरै वार्षिक जनसंख्या वृद्धिदर हुने प्रदेशमा मधेश प्रदेश छ । मधेश प्रदेशको जनसंख्या वृद्धिदर १.१९ प्रतिशत छ । अन्य प्रदेशको वार्षिक जनसंख्या वृद्धिदर १.०० प्रतिशतभन्दा कम रहेको जनगणना २०७८ को प्रतिवेदनमा उल्लेख छ ।
नेपालमा विगत २०५८ देखि २०६८ को अवधिमा वार्षिक औसत १.४० प्रतिशतका दरले जनसङ्ख्या वृद्धि भएको थियो । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कूल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ । यसमा पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ । अन्य लिङ्गी (लैङ्गिक तथा यौनिक अल्पसंख्यक) को जनसंख्या २ हजार ९२८ छ जुन कूल जनसंख्याको ०.०१ प्रतिशत हो ।
प्रतिकृया दिनुहोस