श्रीमतिलाई उपप्रधानमन्त्री बनाउनेदेखि टिकापुर जिल्ला बनाउनेसम्म रेशम चौधरीका अस्वभाविक माग
काठमाडौं । टिकापुर घटनाका दोशी ठहर भएका रेशम चौधरीले जेलभित्रैबाट राजनीतिक दलहरुलाई फनफनी घुमाइरहेका छन् । हालको ८ दलीय गठबन्धनमा रहेको उनको पार्टी नागरिक उन्मुक्ति पार्टी संलग्न छ । यही मौकामा उनले अस्वभाविक मागहरु अघि सार्न थालेका छन् ।
राष्ट्रपतिका उम्मेदवारसमेत रहेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसहितका नेताहरूसँग नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले रञ्जिता श्रेष्ठलाई उपप्रधान एवं सहरी विकास मन्त्रालय दिनुपर्ने माग गरेका छन् । रञ्जिता रेशमकी श्रीमती पनि हुन् ।
सुदूरपश्चिम प्रदेशको नाम खस–थारु प्रदेश नराख्नु पर्ने रेशमको माग छ । नाम फेर्न गठबन्धनसँग सुदूरपश्चिममा दुई तिहाइ रहेको चौधरीको भनाइ छ । सुदूरपश्चिमको राजधानी धनगढी बनाउनुपर्ने उनको माग छ । प्रदेशसभाको विगतको कार्यकालमा कैलालीको गोदावरीलाई स्थायी राजधानी बनाउने गरी प्रदेशसभाबाट पारित भएको थियो ।
संरक्षक चौधरीले प्रदेशहरूसमेत पावर सेयरिङ गर्नुपर्ने शर्त राखेका छन्। उनले सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिलेसमेत नेतृत्व गर्नुपर्ने शर्त राखेका छन् । नाउपाले लुम्बिनीमा दुई मन्त्री र मधेस प्रदेशमा एक मन्त्री दाबी गर्ने बताएको छ । नाउपाले उपप्रधानमन्त्रीसहित एक राज्यमन्त्री माग गरेको छ ।
राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल, नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालालगायत टोली डिल्ली बजार पुगेका थिए । संरक्षक चौधरीले टीकापुर राजबन्दीलाई यथाशिघ्र रिहा गर्नुपर्ने अडान राखेका छन् ।
प्रतिकृया दिनुहोस