कांग्रेस सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर
गुरुङलाई फनपार्कले फनफनी घुमायो
काठमाडौं । भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ दोषी ठहर भएका छन् ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङलाई मतियारको रुपमा दोषी ठहर गरेको हो ।
भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गर्न मतियारको भूमिका निर्वाह गरेको विशेष अदालतले ठहर गरेको छ । यो मुद्दामा गुरुङसहित ९ जनालाई अदालतले दोषि ठहर गरेको छ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्य शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङलाई दोषी ठहर गर्दै फैसला सुनाएको हो । गुरुङलाई के कति सजाय हुने भन्ने फागुन २५ गते निर्धारण हुने विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ माघ २१ गते निलम्बित सांसद गुरुङसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । भृकुटीमण्डपको ६० रोपनी जग्गा प्रतिमहिना ५ लाख ५५ हजार रुपैयाँ भाडामा १० वर्षका लागि फनपार्कलाई दिने निर्णयमा गुरुङ पनि संलग्न देखिएका हुन् ।
गुरुङ भृकुटीमण्डप फनपार्कको मेला सञ्चालक थिए । मनाङबाट निर्वाचित सांसद गुरुङ यही मुद्दाका कारण निलम्बनमा छन् ।
प्रतिकृया दिनुहोस