एक वर्षपछि जेलमुक्त भए पल शाह, जेल बाहिर समर्थकको लाग्यो भीड
तनहुँ । उच्च अदालतबाट सफाई पाएपछि पल शाह जेलबाट छुटेका छन्। तनहुँ कारागारले उनलाई सोमबार छाडेको हो। पल कारागारबाट छुट्दा उनकी बहिनीले बुझेकी छन् ।
कारागारबाहिर पलका समर्थक तथा आफन्त ठूलो संख्यामा जम्मा भएका छन् । जिल्ला अदालत नवलपुर इमेलमार्फत सोमबार बिहान पललाई थुनामुक्त गरिदिन पत्र पठाएको थियो ।
जिल्ला अदालत नवलपुरले बाल यौन दुरुपयोगको कसुरमा पललाई अढाई वर्ष कैदको फैसला गरेको थियो । तर त्यसलाई उच्च अदालत पोखराले बदर गर्दै पलिलाई सबै अभियोगबाट सफाइ दिएपछि एक वर्षदेखि थुनामा रहेका पल छुटेका हुन् । पल २०७८ फागुन १५ गते तनहुँ प्रहरीको हिरासतमा पुगेका थिए । जाहेरी परेको चार दिनपछि प्रहरीसमक्ष पलले आत्मसमर्पण गरेका थिए ।
शाहले कष्टकर समयमा पनि आफूलाई साथ दिने सबैलाई धन्यवाद दिएका छन् । कारागारबाट रिहा हुँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै उनले भने, ‘अहिलेलाई यति मात्र भन्न चाहन्छु सबैलाई धन्यवाद ।’ परिवारका सदस्यबाट घेरिएका उनी छोटो कपाल र कालो ज्याकेटमा प्रफुल्ल देखिएका थिए ।
कारागार बाहिर उभिएका फ्यानलाई हेरेर अभिवादन गरेका उनी खुसी देखिन्थे । उनलाई बहिनी रोशनीले गाडीसम्म आइपुग्न साथ दिएकी थिइन् । पलनिकट संगीतकार योगेशकाजीका अनुसार पल आज पोखरा लाग्नेछन् । एकदिन पोखरामा आराम गरेर भोलि मात्र काठमाडौं आइपुग्ने तयारी छ ।
प्रतिकृया दिनुहोस