माधवकुमार नेपाल भन्छन्: मेची पुलबाट प्रतिगमनको यात्रा सुरु भयो, सतर्क बनौं
पोखरा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहको चलखेल सुरु भएको बताएका छन् ।
अध्यक्ष नेपालले मेची नदी किनारबाट प्रतिगमनको यात्रा सुरु भएको बताएका छन् । त्यसप्रति सतर्क रहँदै प्रतिगमन र अग्रगमनको पक्षमा कित्ता क्लियर गर्न उनले आह्वान समेत गरेका छन् ।
कास्कीमा आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री नेपालले भने, ‘प्रतिगमनको दिशातर्फको यात्रा हुन लागेको संकेत मेची नदीको किनारबाट हामी सबैले पाइसकेका छौं । अब हामी सतर्क बनौं । प्रतिगमनको पक्षमा कोको ? अग्रगमनको पक्षमा उभिने कोको ? अग्रगमनको पक्षमा उभिनेहरु एकताबद्ध हौं ।’
राजतन्त्र फर्काउने उदघोष सहित पूर्वराजा ज्ञानेन्द्र शाहको सहभागीतामा झापाको मेची नदी किनारमा गरिएको कार्यक्रमप्रति संकेत गर्दै नेपालले सो धारणा राखेका हुन् ।
नेता नेपालले अहिलेको सत्ता गठबन्धनको पनि आलोचना गरे । ‘खिचडी गठबन्धन’को संज्ञा दिंदै उनले भने, ‘यो संविधान, गणतन्त्र, संघीयताप्रति प्रतिबद्ध छैन ।’ परिवर्तनप्रति पनि गौरववोध गर्ने खालको पनि नभएको उनले बताए ।
उनले एमालेका उम्मेदवारहरु सभामुख र राष्ट्रिय सभाको अध्यक्ष भइसकेको र अब राष्ट्रपति पनि एमालेकै भए देश बर्बाद हुने बताए । उनले राष्ट्रिय सहमतिविना एकीकृत समाजवादीले राष्ट्रपति पदमा उम्मेदवारी नदिने बताए । ‘अरु पार्टीलेजस्तो हारे पनि, जिते पनि हावातालमा उम्मेदवारी दिँदैनौं,’ उनले भने ।
प्रतिकृया दिनुहोस