अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदै
काठमाडौं । नेकपा एमाले निकट निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु) को २३ औं राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ ।
आज दिउँसो साढे १२ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । फागुन ४ सम्म चल्ने महाधिवेशनमा देशभरबाट १५७३ प्रतिनिधिले सहभागिता जनाउने छन् ।
लामो समय निर्वाचनबाट नेतृत्व चयन गर्न नसकेको एमाले अखिलले सहमतिबाट नेतृत्व चयन हुन नसकेमा मतदान प्रक्रियाबाट नेतृत्व चयन गर्ने घोषणा गरेको छ । महाधिवेशनले १९९ सदस्सीय केन्द्रीय समिति र तीनवटा केन्द्रीय आयोग पनि निर्माण गर्नेछ। आयोगमा १५ जना सदस्य हुनेछन् ।
निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार, समृद्ध नेपालको निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशील संगठन, स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मूल नारासहित अखिलको २३ औँ राष्ट्रिय महाधिवेशन हुन लागेको हो ।
अध्यक्ष सुनिता बरालले सहमतीबाट नेतृत्व चयनको प्रयास गरिने र सहमति हुन नसके विद्युतीय मतदानबाट नेतृत्व चयन गर्ने गरी प्रबन्ध मिलाइएको बताइन् । अखिलको भावी नेतृत्वको लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र मोती विश्वकर्मा र महासचिव समिक बडालले दाबी गरिरहेका छन् ।
प्रतिकृया दिनुहोस