भोलीदेखि उपत्यकामा अनिश्चितकालीन यातायात बन्दको घोषणा (विज्ञप्तिसहित)
काठमाडौं । यातायात व्यवसायी तथा मजदुरहरूले मंगलबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द गराउने घोषणा गरेका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले संयुक्त रुपमा सार्वजनिक यातायात बन्दको आह्वान गरेको हो ।
सरकारले विगतमा गरेका सहमतिहरू पालना नगरेको भन्दै विरोधको रुपमा उनीहरूले यातायात नचलाउने घोषणा गरेका हुन् । सोमबार सवारी चालकहरूले पाँच पटकसम्म चिट काटेपछि ६ महिनासम्म सवारी चलाउन नपाउने नियमविरुद्ध सडकमा प्रदर्शन गरेका थिए । उनीहरूले नयाँ बसपार्क क्षेत्रमा सडकमा नै सवारीसाधन तेर्स्याएर सडक अवरुद्धसमेत गरेका थिए ।
यातायात मजदुर नेता भीम ज्वाला राईले आफूहरुमाथि आक्रमण भएको बताए । ‘हाम्रा १० बुँदे माग सार्वजनिक गर्ने कार्यक्रममा ल्होत्से कम्पनीका महाप्रबन्धक सुनिल कुँवर, सदस्य पंकज मल्ल, हिमाल कुँवरसहित ३० जनाको समूहबाट हामीमाथि कुटपिट भयो । त्यहीकारण हामी आन्दोलित भएका हौँ,’ राईले भने ।
यसलाई लिएर आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा वार्ता पनि भएको थियो । उक्त छलफलमा सहमति भएको बताइएको थियो । मजदुरहरुले ट्राफिक प्रहरीले ऐनविपरीत १५ सय जरिवाना असुलेको, चालकहरूको अनुमतिपत्र जथाभावी निलम्बन गरेको, प्रदूषणका नाममा मनोमानी रकम उठाएको आरोप लगाएका छन् ।
उनीहरुले आफ्ना माग पूरा गरिनुपर्ने बताएका थिए । तर सरकारले नसुनेको उनीहरुको गुनासो थियो । उनीहरूले ट्राफिक नियमको पनि विरोध जनाएका छन् । काठमाडौं महानगरपालिका समेतको समन्वयमा बालाजु, माछापोखरीलगायतका स्थानमा पार्किङ गरिने सवारीसाधनलाई नयाँ बसपार्कमा मात्र पार्किङ गर्नुपर्ने नियम बनाइएपछि यातायात व्यवसायी र मजदुर आक्रोशित बनेका हुन् ।
अहिले यातायात मजदुरहरूले गोंगबु, चक्रपथलगायतका क्षेत्रमा चक्काजाम गरेका छन् । यात्रुसहितका सार्वजनिक सवारी सडकमा तेर्स्याइएको छ। प्रहरी वृत्त बालाजुका अनुसार अवरुद्ध सडक खुलाउने क्रममा आन्दोलनकारी र प्रहरीबीच झडपको अवस्था सिर्जना भएको थियो ।
प्रतिकृया दिनुहोस