आज २८औं जनयुद्ध दिवस मनाईदै, आज सार्वजनिक विदा
काठमाडौं । आज माओवादीले सशस्त्र युद्धको सुरुआत गरेको दिन । आजको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाइँदैछ ।
शान्ति प्रक्रियापछि माओवादीले पटक-पटक सरकारको नेतृत्व गरे पनि आज पहिलो पटक सरकारले नै जनयुद्ध दिवस मनाउन लागेको हो ।
यसअघि जनयुद्धको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसका रूपमा मनाउँदै आएको थियो । तर, यो वर्ष भने प्रचण्ड सरकारमा पुगेपछि पहिलोपटक जनयुद्ध दिवसमा सार्वजनिक विदा दिइएको हो ।
यसअघि पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा सरकारले सार्वजनिक बिदा दिएको थियो । फागुन १ गते जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय यसअघि विभिन्न पालिका तथा कर्णाली र बागमती प्रदेश सरकारले गरिसकेका छन् ।
जनयुद्धको २८औं वार्षिकोत्सवका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । सरकारमा रहेका राप्रपाका मन्त्रीहरूले भने जनयुद्ध दिवस मनाउने निर्णयप्रति असन्तुष्टि जनाएका छन् ।
माओवादीले २०५२ फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो । युद्धका क्रममा राज्य र माओवादी पक्षबाट हजारौंको मृत्यु र घाइते भए । केही अझै बेपत्ता छन् ।
सोही जनयुद्धकै जगमा गणतन्त्र स्थापित भएको माओवादीको दाबी छ । दिवका अवसरमा प्रदेश सरकारहरूले पनि छुट्टै सार्वजनिक बिदाको घोषणा गरेका छन् । गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका भन्दै बिदा दिइएको हो ।
प्रतिकृया दिनुहोस