राष्ट्रपतिमा सहयोग गर्न देउवाले गरे नेपालसँग अपिल
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
कांग्रेस सभापति देउवालाई भेट्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल शुक्रबार बिहान धुम्बराहीस्थित देउवा निवास पुगेका थिए । सो क्रममा दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमका साथै आगामी राष्ट्रपति निर्वाचन र उपराष्ट्रति निर्वाचनका विषयमा छलफल भएको थियो ।
फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । सत्ता गठबन्धन र सत्ता बाहिर रहेका दलहरु अहिले राष्ट्रपति र उपराष्ट्रपतिमा दावी गर्दै छलफलमा जुटेका छन् । एमालेले पूर्वसहमति अनुसार नै राष्ट्रपति हुने र त्यो भनेको एमालेले सिफारिस गरेका व्यक्ति नै राष्ट्रपति बन्ने बताउँदै आएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाएकै बेला राष्ट्रपतिको विषय टुंगिएको एमालेको दावी छ ।
नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई समर्थन गरेकाले कांग्रेसलाई समेत समेटेर राष्ट्रपतिको उमेदवार तय गर्नुपर्ने बताउँदै आएको छ । नेपाली कांग्रेसले राष्ट्रपतिमा आफ्नो दावी रहेको र कांग्रेसले उठाएको उमेदवार राष्ट्रपति बन्ने बताउँदै आएको छ ।
देउवाले नेपाली कांग्रेसले राष्ट्रपतिमा उमेदवारी दिने र त्यसमा सहयोग गर्न अध्यक्ष नेपाललाई आग्रह गरेका थिए । एकीकृत समाजवादीका अध्यक्ष नेपालले देउवासँग उपराष्ट्रपतिमा आफ्नो पार्टीको दावी रहेको समेत बताएका थिए ।
प्रतिकृया दिनुहोस