सुन्तला खेतीबाट एकैजनाले गरे ४५ लाख आम्दानी
वालिङ । यहाँका एक किसानले सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी गरेका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलाका किसान मुक्ति अधिकारीले सुन्तला बेचेर एकै वर्षमा ४५ लाख आम्दानी गरेका हुन् ।
सुन्तला टिप्न थालेको सुरुआती अवस्थामा प्रतिकेजी ५५ बाट सुरु गरेर अहिले अन्तिममा प्रतिकेजी ८९ रुपैयाँमा बिक्री भइरहेको उनले बताए । ‘बगैँचामा रहेको सुन्तला आफैँ टिप्ने र ठेकेदारलाई बजार मूल्यअनुसार ५५ देखि ८९ प्रतिकेजीका दरले बिक्री गरेको हुँ’, उनले भने, ‘हालसम्म करिब ४२ लाखको सुन्तला बिक्री गरिसकेको छु । अझै तीन लाख जतिको सुन्तला बोटमै छ ।’
गत वर्ष यही समय प्रतिकेजी १०२ देखि १०४ रुपैयाँका दरले सुन्तला बिक्री भएको थियो। गत वर्षभन्दा यो वर्ष अधिक उत्पादन भएकाले अपेक्षित मूल्य नपाएको उनले बताए ।
‘गतवर्षको तुलनामा यो वर्ष सुन्तला धेरै फल्यो तर मूल्य बढेन’, उनले भने, ‘केही समयपछि बिक्री गर्दा राम्रो मूल्य पाइन्छ भन्ने आशले शीतभण्डारमा सुन्तला भण्डारण गर्दा कुहियो । उल्टै घाटा लाग्यो।’ उनले स्याङ्जा शीत भण्डारमा ६१७ क्यारेट सुन्तला भण्डारण गरेका थिए । ३९० क्यारेन्ट सुन्तला कुहिँदा करिब सात लाख रुपैयाँ नोक्सान भएको उनी बताउँछन् ।
२०३२ देखि तेजनारायण अधिकारीसहित पाँच जनाले स्याङ्जामा व्यावसायिक सुन्तला खेतीको सुरुआत गरेका जनाइएको छ । ‘बुबाले लगाउनुभएको ५०० बोटलाई बिस्तार गरी मैले २०६९ सालदेखि संरक्षण गर्दै थप्दै गएँ’, उनले भने, ‘अहिले मसँग दुई हजार २०० बोट सुन्तला छन् । तर सबै फलिसकेका छैन। सबैमा फल लाग्दा त करोडमाथि आम्दानी हुन्छ ।’
चौध वर्ष कोरियामा रोजगारी गरेका अधिकारीले बगैँचा विस्तारमा ध्यान दिएका छन् । हाल उनीसँग एकसय ६० रोपनी क्षेत्रफलमा दुई हजार २०० सुन्तलाका बोट छन् । उनीप्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोनको सञ्चालक समितिको सचिव समेत थिए । रासस
प्रतिकृया दिनुहोस