गृहमन्त्री लामिछाने भन्छन्, अब नतिजामा देख्नुहुन्छ
काठमाडौं । गृहमन्त्री रवि लामिछानेले फरार प्रतिवादी संसद्मा आउँदा पनि पक्राउ गर्न नसकेको विषयमा चाँडै नतिजा आउने बताएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकपछि बाहिरिनेक्रममा उनले अब त्यो विषयमा नतिजा आएपछि मात्रै बोल्ने बताए ।
ज्यान मुद्दामा प्रतिवादी रहेका लक्ष्मी महत्तो कोइरी नेकपा ९एमाले०बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी यसअघि प्रधानमन्त्रीलाई विश्वासको मत दिनेक्रममा संसद्मा उपस्थित भएका थिए । तर, प्रहरीले पक्राउ नगरेको भन्दै संसद् सचिवालयले उनलाई पदबाट निलम्बन भने गरेको छैन ।
‘मैले बोल्नेमात्रै होइन, त्यो नतिजामा पनि देखिने हो । यो विषयमा पनि त्यही हो,’ उनले भने, ‘हामीले निर्देशन गरिसकेका छौं । अब नतिजामा देख्नुहुन्छ ।’ सत्तारुढ दलको सांसदलाई कसरी पक्राउ गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘पक्रिएको दिन अन्तर्वार्ता दिन आउँला ।’
उनले आफूले नतिजामुखी काममा ध्यान दिइरहेको बताए । तपाईंले निर्देशनमात्रै दिने र विज्ञप्ति निकालेर प्रचार गर्ने हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘हामीले काम गर्ने हो । काम गरेपछि कहिलेकाहीं विज्ञप्ति पनि आउँछ । हामी रिजल्ट ओरेन्टेड नै छौं । विज्ञप्ति सबैको जानकारीका लागि निकालिएको हो, लोकप्रियताका लागि गरिएको होइन ।’
मधेस आन्दोलनका क्रममा प्रहरी सई थमन थापाको हत्या अभियोगमा फरार रहेका कोइरी महोत्तरी १ बाट निर्वाचित भएका छन् । उनलाई पक्राउ गर्नुपर्ने आवाज संसदमै उठेपछि उपप्रधान तथा गृहमन्त्री लामिछानेले पक्राउ गरी कानुनी कारबाही अघि बढाउन निर्देशन दिएका थिए । तर उनी पक्राउ परेका छैनन्, बरु संसद बैठकमा नियमित जस्तो उपस्थित हुने गरेका छन् ।
प्रतिकृया दिनुहोस