भोकले मरिन् पहिलो बलिउड स्टार परविन, अन्तिम संस्कारमा पनि आएनन् आफन्त
काठमाडौं । मिति : २२ जनवरी २००५
स्थान : एज रिभिएरा बिल्डिङ, सातौं तला, जुहु, मुम्बई
तीन दिनदेखि एउटा अपार्टमेन्टको ढोकाबाहिर अखबार र दूधका प्याकेट थुप्रिएका थिए । तीन दिनदेखि न ढोकामा ताल्चा लगाइएको थियो, न त भित्रबाट कोही बाहिर निस्केका थिए । छिमेकीहरू भेला भएपछि उनीहरूलाई शंका लाग्यो। ढोका नजिक पुग्दा कुहिएको दुर्गन्धका कारण उनी त्यहाँ धेरै बेर बस्न सकेनन् । स्थिति शंकास्पद देखेपछि छिमेकीले प्रहरीलाई खबर गरे ।
जब प्रहरी पुग्यो, ढोका ढकढक्यायो, कुनै जवाफ आएन । जब प्रहरी ढोका फोडेर भित्र पस्यो, तब चकित पार्ने दृश्य देखियो ।
आफ्नो समयकी सबैभन्दा सुन्दर र चर्चित अभिनेत्री परविन बाबीको शव ओछ्यानमा पल्टिएको थियो । तर चिन्न सकिने अवस्था थिएन शरीर सडेको थियो, दुर्गन्धका कारण कसैले सास फेर्न सक्ने अवस्था थिएन ।
कोठा पूरै अस्तव्यस्त थियो र खाटको छेउमा ह्विलचेयर थियो । परविन बाबीको शव भेटिएको ७२ घण्टाअघि नै मृत्यु भएको थियो । कोही आफन्त थिएन, साथी थिएन, खोजखबर गर्ने कोही थिएन ।
परविन बाबीको मृत्युको खबर पाउनासाथ पत्रकार भवनमुनि जम्मा भए। उनको शव दाबी गर्न सक्ने कोही आफन्त थिएनन् । ५० वर्षको उमेरमा सुन्दरी परविन बाबीको कुहिएको शव भेटिएको खबरले सिंगो देश स्तब्ध भएको थियो ।
भोकले मृत्यु!
परविन बाबीको शव पोस्टमार्टमका लागि मुम्बईको कुपर अस्पतालमा लगिएको थियो। रिपोर्टमा उनको शरीरमा खानाको अंश केही पनि फेला परेन । परविन बाबी धेरै दिनदेखि भोकै थिइन् । तर उनको शरीरमा रक्सी भेटियो । मृत्यु भएको केही दिन अघिबाटै परविनले केही नखाएको रिपोर्टमा उल्लेख छ । भोकका कारण उनको शरीरका धेरै अंगले काम गर्न छोडेका थिए ।
महेश, डेनी, कबिर अन्त्येष्टिमा सहभागी
परविन बाबीको पोस्टमार्टम कुपर अस्पतालमा गरियो, तर उनको शव दाबी गर्न कोही पनि आफन्त आएनन् । शव फेला परेको दुई दिन बितिसक्दा पनि खोज्न कोही आएनन् । फिल्म निर्माता महेश भट्ट अन्ततः उनको शव लिन अस्पताल पुगे, परविनका लागि आफ्नो परिवार छाडे। महेशले नै परविनको अन्तिम संस्कार गराए ।
महेश भट्टका साथै कबिर बेदी र डेनी डेन्जोङ्पा पनि परविनको अन्त्येष्टिमा सहभागी भए । जो परविन बाबीको जीवनका तीन महत्त्वपूर्ण पात्र थिए। उनीहरूले विभिन्न समयमा परविनलाई माया गरेका थिए ।
परविनले आफ्नो मृत्युको केही महिनाअघि इसाई धर्म अपनाएकी थिइन् । क्रिश्चियन संस्कारअनुसार दाहसंस्कार गर्न चाहन्थे तर उनका मुस्लिम आफन्तले विरोध गरे र उनको जुहुको सान्ताक्रूज कब्रिस्तानमा मुस्लिम संस्कारअनुसार दाहसंस्कार गरियो ।
७०–८० को दशकको सबैभन्दा सुन्दर र ग्ल्यामरस अभिनेत्री मानिने परविन बाबीका लाखौं फ्यान थिए । उनी पहिलो बलिउड स्टार थिइन्, जसले अन्तर्राष्ट्रिय टाइम म्यागजिनको कभर पेजमा स्थान पाएकी थिइन् । अमर अकबर एन्थोनी, शान, नमक हलाल, कालिया जस्ता दर्जनौं उत्कृष्ट फिल्ममा अभिनय गरेकी परविनको यस्तो पीडादायी अवस्थामा कसरी मृत्यु भयो ? कारण थियो– प्यारानोइड सिजोफ्रेनिया, एक निको नहुने रोग । यो रोगका कारण परविनले अमिताभ बच्चन, बिल क्लिन्टन, प्रिन्स चाल्र्स, जोन एफ केनेडीलाई आफ्नो जीवनको शत्रु मान्न थालेकी थिइन् ।
धेरैपटक यस्तो पनि भयो- जब परविनले सुटिङका क्रममा अमिताभलाई मार्ने प्रयास गरेको गम्भीर आरोप लगाइन् र त्यसपछि अचानक सेटबाट गायब भइन् । परविन बाबीको जीवनको कथा सुरुमा परी कथाजस्तै थियो। जब उनको जीवनमा यो खराब समय सुरु भयो, तब सबैले उनलाई खराब बनेको देखे ।
५ वर्षको हुँदा बुबा बिते
परविन बाबीको जन्म ४ अप्रिल १९५४ मा जुनागढ, गुजरातमा जुनागढका नवाबहरूका पश्तुनहरूको बाबी जनजातिका सदस्य वली मोहम्मद खानको घरमा भएको थियो । परविन आफ्नो आमाबाबुको विवाहको १४ वर्षपछि जन्मिएकी थिइन् । उनी ५ वर्षकी हुँदा बुबाको निधन भयो । अहमदाबादबाट पढाइ सकेर परविनले मोडलिङ सुरु गरिन् । बोल्ड परविन कलेजका दिनदेखि चुरोट पिउँथिन् । एकदिन फिल्म निर्माता बीआर इशाराले परविनलाई पफर्मेन्स गर्दैगर्दा देखे र उनले परविनलाई नायिका बनाउने निर्णय गरे ।
परविनले सन् १९७३ मा चलचित्रमा भूमिका पाएकी थिइन् । यो फिल्म फ्लप भए पनि बोल्ड, ब्युटिफुल र ग्यालमरस परविनले धेरै फिल्ममा काम गर्ने मौका पाइन् । समय यस्तो आयो– परविनको नाम टप एक्ट्रेसको लिस्टमा लिने गरिन्थ्योे तर अचानक उनको अनौठो गतिविधिका कारण उनको स्टारडम घट्न थाल्यो ।
अचानक सेटबाट गायब
सन् १९८३ मा एक फिल्म सुटिङका क्रममा परविन अचानक सेटबाट गायब भइन्, कसैलाई जानकारी नदिई। ६ वर्षपछि परविन मुम्बई फर्किन् र उनले अध्यात्मका लागि फिल्म उद्योग छाडेको बताइन् ।
रोग लुकाइन्
परविन बाबी सन् १९८९ मा मुम्बई आएकी थिइन् । यसैबीच परविन बाबीलाई प्यारानोइड सिजोफ्रेनिया नामक गम्भीर रोग लागेको खबर सार्वजनिक भयो । तर उनले त्यसको खण्डन गरिन् । परविनले इन्डस्ट्रिजका मानिसहरूले आफूलाई जानाजानी पागल भनेको बताएकी थिइन् । परविनको अनौठो बयानका कारण फिल्म उद्योगका मानिस तथा साथीहरू उनीबाट टाढा हुन थाले ।
परविन बाबीको पहिलो अफेयर डेनी डेन्जोङ्पासँग थियो । यी दुईको सम्बन्ध करिब ४ वर्षसम्म चलेको थियो । परविन कबिर बेदीसँग पनि सम्बन्धमा थिइन्, तर यो सम्बन्ध लामो समय टिक्न सकेन । कबिर बेदीसँगको ब्रेकअपपछि परविनले महेश भट्टलाई भेटिन्, जो पहिले नै विवाहित थिए । महेश त्यतिबेला फिल्म उद्योगमा संघर्ष गरिरहेका थिए, परविन बाबी उद्योगमा चर्चित भइसकेकी थिइन् । परविन र महेश भट्टको निकटताका कारण महेशको वैवाहिक जीवनमा समस्यासमेत आएको बताइन्छ ।
मानिसहरूले परविनलाई पागल मान्न थाले र उनीसँग दूरी कायम गर्न थाले । परविन मुम्बईको पेन्टहाउसमा एक्लै बस्न थालिन् । उनले मान्छेहरूलाई भेट्न छाडिन् ।
परविन बाबीको मृत्यु भएको १८ वर्ष बितिसक्दा पनि उनको शव भेटिएको जुहुको फ्ल्याट खाली छ । यो फ्ल्याटको मूल्य १५ करोड रुपैयाँ र भाडा ४ लाख रुपैयाँ छ । सन् २०१४ मा एक व्यक्तिले यो फ्ल्याट भाडामा लिएका थिए तर व्यावसायिक रूपमा प्रयोग गरेको भन्दै फ्ल्याटबाट निकालिएका थिए ।
त्यसपछि त्यो फ्ल्याटमा कोही बस्न चाहँदैनन् । मानिसहरू त्यो घरमा बस्न डराउँछन् । फ्ल्याट हेर्न आउँछन्, तर यो फ्ल्याट परविनको हो र उनको यहीँ मृत्यु भएको थाहा पाउनेबित्तिकै उनीहरू हच्किन्छन् । त्यसकारण उक्त फ्ल्याट अहिले पनि खाली नै रहेको हो । –दैनिक भास्करबाट
प्रतिकृया दिनुहोस