प्रचण्डले भने, डा. सन्दुक रुइतले राज्यसँग गरेका अपेक्षालाई गम्भीरतापूर्वक लिएको छु
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इसा अवार्ड जितेका वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले राज्यसँग गरेका अपेक्षालाई गम्भीरतापूर्वक लिने बताएका छन् ।
प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेकोमा बधाई दिँदै प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘मानव कल्याणको क्षेत्रमा उहाँको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय छ ।’
अवार्ड घोषणापछि बुधवार तिलगंगा आँखा अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै रुइतले यो अवार्डलाई कसरी लिन्छ भन्ने बारेमा आफूले ध्यान दिइरहेको पनि बताएका थिए ।
प्रधानमन्त्री प्रचण्डले राज्यसँग रुइतले गरेका अपेक्षालाई गम्भीरतापूर्वक लिने बताएका छन् । ‘राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ’ प्रचण्डले भनेका छन् ।
आँखाको ज्योति गुमाएका एक लाख ८८ हजारलाई सुन्दर संसार देखाउन सफल रुइतलाई मंगलबार विश्वप्रसिद्ध इसा अवार्डले सम्मान गर्ने घोषणा गरिएको हो । बहराइनका पूर्वराजा शेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ का लागि १ सय ४९ संस्थाको नाम छानिएको थियो । तर, १० लाख अमेरिकी डलर (१३ करोड नेपाली रुपैयाँ) को अवार्ड डा. रुइतले पाएउँदैछन् ।
नेपालमा डा. रुइतको टिमले बनाइरहेको आँखाको लेन्स अहिले वर्षमा तीन लाख जति विदेश पठाइन्छ । तर अब त्यसलाई बढाएर वर्षमा १० देखि १५ लाख पठाउने योजना उनको छ ।
इशा अवार्ड पाएपछि सामाजिक सञ्जालमा डा। रुइतलाई राष्ट्रपति बनाउनुपर्ने आवाज उठिरहेका छन् । तर, त्यसबारे भने आफू इच्छुक नभएको उनले बताएका छन् ।
प्रतिकृया दिनुहोस