सुदन किँरातीलाई अस्पतालको बेडमा रहेका बुबाको प्रश्न, होइन यो सपना हो कि विपना हो ?
काठमाडौं । भोजपुरका सांसद सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्ने भएका छन् । भोजपुरबाट प्रदेश १ का पूर्वमुख्यमन्त्रीसमेत रहेका शेरधन राईलाई हराएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित किराती पहिलो पटक मन्त्री बन्न लागेका हुन् ।
किराती अस्पताल पुग्दा बुवा हर्कबहादुर राई बेडमा आराम गरिरहेका थिए । पूर्वलाहुरे हर्कबहादुर पक्षघातले थलिएका छन् । किरातीले बुवालाई भने, ‘बुवा म मन्त्री हुने भएँ ।’
‘हँ, होइन कुन मन्त्री ? राम राम राम साँच्चै हो रु होइन यो सपना हो कि विपना हो ?’ सुदनले आफू संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययनमन्त्री बन्न लागेको सुनाए । बुवाले उनी कसरी मन्त्री हुन पुगे भनी जिज्ञासा राखे ।
सुदनले भने, ‘पहिलो त तपाईंहरूले जन्माउनुभयो, दोस्रो त मैले राजनीतिमा दुःख गरें, जनताले माया र भरोसा दिए । पार्टीले पनि विश्वास गर्यो ।’
किराती २०४६ सालको जनआन्दोलनपछि विद्यार्थी आन्दोलनमा सहभागी भएर राजनीतिमा प्रवेश गरेका हुन् । २०६२ सालबाट किराती राष्ट्रिय मोर्चाको केन्द्रीय अध्यक्ष बनेका थिए । २०७४ सालमा माओवादी केन्द्रीय सदस्य बनेका थिए ।
२०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा नेकपा माओवादीको तर्फबाट भोजपुर -२ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका किराती भोजपुरबाट २०७४ र २०७९ मा पनि दोहोरिए । माओवादी आन्दोलनका क्रममा करिब ९ वर्ष भूमिगत रहेका उनले २०६१ सालबाट २०६३ सालसम्म २३ महिना बन्दी जीवन बिताएका थिए । किरातीले हालै मात्र ‘पलपलको मृत्यु’ नामक पुस्तक पनि प्रकाशित गरेका छन् ।
सुदनले फेसबुकमा लेखेका छन्, ‘बुवा मलाई जेलमा भेट्न आउनु हुँदा पनि रुनु भएको थियो । आज पनि रुनुभयो । तर आँसुको मुहान र भाव भने फरक ।’
किराती र उनका बुवाबीचको संवाद
डाँडाको जुन घाम जस्तै बुवासँग कुराकानी !
म - बुवा म मन्त्री हुने भए छु ।
बुवा - हँ ! होइन कुन मन्त्री ? राम राम राम साँच्चै हो ? होइन यो सपना हो कि विपना हो ?
म - हो बुवा साँच्चै हो विपना नै हो । ( संस्कृति,पर्यटन तथा नागरिक उड्डयन)
बुवा - मन्त्रीचाहिँ कसरी भइस ? कसले गर्दा भइस ?
म - पहिलो त तपाईंहरुले जन्माउनुभयो, दोस्रो त मैले धेरै राजनीतिमा दु:ख गरेँ, तेस्रो जनताले माया र भरोसा दियो, चौथो पार्टीले विश्वास गर्यो ।
बुवा- राम राम राम ! म उहिले फोक्ल्यान्डको लडाइँमा मरेको भएँ यो दिन सुन्न र देख्न पाउँदिनँ थेँ !
म - म पनि जनयुद्धमा मरेको भए त्यस्तै त हो ......... ।
बुवा- हाम्रो वंशमा वडाध्यक्षसम्म कोही भएनौं, राम्रो गर्नू ।
म - पाउनु ठूलो कुरा होइन काम गर्नु ठूलो कुरा हो । म मेहनत गर्छु । आमाजी त पितृको देशमा हुनुहुन्छ आज हामी सँगै हुन पाएको भए ... ।
बुवा - म गएपछि तेरो आमासँग भेट हुन्छ नै होला म सबै भनिदिउँला । बुवा रुनु भो ! म ... !
सम्झेँ !
बुवाले मलाई जेलमा भेट्न आउँदा पनि उबेला धेरै रुनु भएको थियो । आज पनि उस्तै रुनु भो तर प्रसंग बेग्लाबेग्लै थियो, आँसु भने उस्तै, आँसुको मुहान र भाव भने फरक ।
प्रतिकृया दिनुहोस