सिधुवा बजार आगलागि अपडेट : साँढे २ घण्टापछि नियन्त्रणमा आयो आगो, ६ घर जल्यो
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिधुवा बजारमा शुक्रबार साँझ लागेको आगो साँढे २ घण्टापछि नियन्त्रणमा आएको छ ।
सिधुवा बजारको काउली चोकको सन्तोष राईको घरबाट बेलुकी ७ बजेतिर सुरु आगलागी शुरु भएको थियो । सो आगलागीबाट बजारका ६ वटा घरमा क्षति पुगेको छ । जसमा दुई घर पूर्ण क्षति र चारमा आंशिक रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट सन्तोष राई र झमक थापाको घर पूर्णरुपमा क्षति पुगेको छ । होमबहादुर थापा, डिकबहादुर खड्का, अर्जुन घिमिरे र डम्बरबहादुर थापाको घर आंशिक क्षति पुगेको छ ।
आगो नियन्त्रणमा आएकाले प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिए । ‘धनकुटा र तेह्रथुमबाट आएका दुई वटै दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ,’ उनले भने, ‘प्रारम्भिक विवरण मात्रै संकलन भएको छ । क्षतिको थप विवरण प्रहरीले संकलन गर्दैछ । केहीसमयमै पूर्ण विवरण आउला ।’
धनकुटा नगरपालिका र तेह्रथुमको लालीगुराँस नगरपालिकाको दमकलसमेत परिचालन गरिएको थियो । छथर जोरपाटीको एक्स्काभेटरसमेत प्रयोग गरिएको थियो । आगो दुई घण्टापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले निभाएको स्थानीय रिता गुरुङले बताइन् ।
आगो निभाउनका लागि धनकुटाबाट थप प्रहरी घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए । घटनाबाट मानवीय क्षति भने नभएको एसपी अधिकारीले बताए । आगो नियन्त्रणका लागि धनकुटा नगरपालिका र तेह्रथुमको लालिगुरास नगरपालिकाको दमकल खटिएका थिए । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीयले दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएका हुन् ।
र यो पनि ....
प्रतिकृया दिनुहोस