नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपानेलाई ३ वर्ष ३ महिना जेल सजाय
काठमाडौं । विशेष अदालतले घूस लिएको कसुरमा विशेष अदालतले नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद र ३९ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।
विशेष अदालतले बिहीबार गरेको फैसला अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई घुस बुझाएको ठहर गर्दै ३ वर्ष ३ महिना जेल र ३९ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको छ ।
नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपाने विवादास्पद पात्र हुन् । उनले कलेजको नेतृत्व गर्दा कलेजका सञ्चालक तथा अन्य पदाधिकारीहरुले गरेको ३३ करोड ७६ लाख ७३ हजार ४९ रुपैयाँ गैरकानूनी खर्च गरेको भनी छानबिनले औल्याएको थियो । त्यसक्रममा न्यौपानेको नाममा झण्डै ८ करोड ९८ लाख रुपैयाँ गैरकानूनी रुपमा भुक्तानी भएको थियो ।
न्यौपाने विरुद्ध प्रहरीले भक्तपुर जिल्ला अदालतमा ठगी मुद्दा चलाएको थियो । जिल्ला अदालतले सफाइ दिएको त्यो मुद्दा उच्च अदालत पाटनमा विचाराधीन छ ।
उनीमाथि सामाजिक संस्थाको रुपमा स्थापित नेपाल इञ्जिनियरिङ कलेजको सम्पत्ति हत्याउन फर्जी कम्पनी खडा गरेको र सम्पत्ति हत्याउन खोजेको आरोप छ । उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा विशेष अदालतमा अर्को मुद्दा विचाराधीन छ ।
गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो । न्यौपानेमाथि १२ करोड ४४ लाख रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको आरोप छ । त्यसैगरी कलेजका अर्का सञ्चालक रामरत्न उपाध्याय र इन्दिरा उपाध्यायमाथि एक करोड २५ लाख रुपैयाँ गैरकानूनी आर्जन गरेको अभियोग छ ।
उजुरी छानबिनको साटो तत्कालीन आयुक्त पाठकले कलेज सञ्चालक न्यौपानेसँग सम्पर्क बढाएर अनियमितताको फाइल बन्द गरिदिने प्रलोभन देखाउँदै ७८ लाख रुपैयाँ घूस लिएका थिए । घूस लिएर फाइल बन्द नगरेपछि विवाद बढ्दै जाँदा रकम लिएको भिडियो बाहिरिएको थियो । त्यसपछि २०७५ फागुन ३ मा पाठकले पदबाट राजीनामा दिए ।
भिडियो सार्वजनिक भएपछि अख्तियारले छानबिन गरेर ‘पाठकले आफ्नो पदीय आचरणविपरीतको कार्य गरी आयोगमा विचाराधीन रहेको भक्तपुर, चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवादसम्बन्धी उजुरी मिलाइदिने भनी कलेजका सञ्चालक भनिएका लम्बोदरकुमार न्यौपानेले दिएको ७८ लाख घूस रिसवत लिएको अनुसन्धानका क्रममा प्राप्त श्रव्य दृश्य सामग्रीबाट समेत पुष्टि भएको देखिँदा उक्त कार्यमा संलग्न पाठक र न्यौपानेविरुद्ध विशेष अदालतमा मुद्दा चलाउने’ निर्णय गरेको थियो ।
त्यसपछि अख्तियारले पाठक र न्यौपानेलाई कारबाही माग गर्दै २०७५ चैत १२ मा विशेष अदालतमा भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले मागेको ७८ लाख रुपैयाँ धरौटी बुझाएर पाठक २०७६ जेठ १ मा तारिखमा छुटेका थिए ।
यस्तो थियो अख्तियारको आरोप
प्रतिकृया दिनुहोस