आज राष्ट्रिय एकता दिवस मनाइँदै, सार्वजनिक बिदा
काठमाडौं । प्रत्येक वर्ष पुस २७ गते मनाइने पृथ्वीनारायण शाहको जन्मजयन्ती राष्ट्रिय एकता दिवसका रुपमा आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।
यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाउन लागिएको हो । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको इतिहास छ ।
इतिहास अनुसार विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भए ।
पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरे । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरे । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए ।
सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०१ औं जन्मजयन्ती मनाइँदैछ ।
यसैबीच पृथ्वीजयन्तीको अवसरमा गोरखाबाट काठमाडौं आएको एकीकरण पदयात्रासहितको ¥यालीलाई आज हनुमानढोकास्थित शार्दूल जंग गणले बाजागाजासहित नगर परिक्रमा गराउँदैछ । त्यसपछि सैनिक मुख्यालय जंगीअड्डामा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
थ्वीजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार भृकुटीमण्डपमा चियापान कार्यक्रम आयोजना गर्दैछ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले चियापानका लागि राजनीतिक दलका नेता तथा सांसदलाई निमन्त्रणा गरेका छन् ।
चियापानमा सहभागिताका लागि पार्टीले औपचारिक रूपमा निमन्त्रणा पठाएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा पनि अध्यक्ष लिङ्देनले ‘रोष्ट्रम’बाटै चियापानमा उपस्थितिका लागि आग्रह गरेका थिए ।
प्रतिकृया दिनुहोस