पाल्पाको रैनादेवी छहरामा बस दुर्घटना हुँदा आमाछोरीसहित ६ जनाको मृत्यु, मृतक सबै महिला
पाल्पा । पाल्पामा बिहीबार राति बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ ।
रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको यात्रुबाहक बस रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ मधुवन टारीफाँट नजिकै राधादी गैराजंगलमा गएराति साढे ९ बजेतिर दुर्घटना भएको थियो ।
ग १ ख ४९७७ नम्बरको बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेर दुर्घटना हुँदा आमा छोरीसहित एउटै वडाका ६ जनाको मृत्यु भएको प्रहरी चौकी जुठापौवाका बरिष्ठ हवल्दार लिलाबहादुर केसीले जानकारी दिए । मृतक सबै पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ खुसार्ने गाउँका महिला हुन् ।
प्रहरीका अनुसार सो दुर्घटनामा परी ३३ वर्षीया निर्मला घिमिरे, उनकी छोरी ११ वर्षीया सुरुमा घिमिरे, ५४ वर्षीया खेमकुमारी राना, १९ वर्षीया विमा पाण्डेय, ४५ वर्षीया गुनाकुमारी गाहा र २१ वर्षीया दानकुमारी खत्रीको मृत्यु भएको हो ।
सो रातको समयमा सडकबाट ५० मिटर तल अप्ठ्यारो भीरमा खसेको थियो । घाइतेहरुलाई उपचारका लागि बुटवल पठाइएको छ । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।
प्रतिकृया दिनुहोस