आजदेखि अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु, आजै टोपी दिवस पनि
काठमाडौं । आजदेखि अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु भएको छ । आज विश्वभर एक आपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदै छ ।
इशाइ धर्मका प्रवर्तक यशु ख्रीस्टको मृत्युपछि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । ईसापुर्व २०२२ बर्ष पहिले इराकको मेसोपोटामियाबाट नयाँ बर्ष मनाउने प्रचलन सुरू भएको मानिन्छ । अङ्ग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिनका अवसरमा नेपालमा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदैछ ।
यो संवत् नेपालमा औपचारिक प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । यो अन्तर्राष्ट्रिय संवत् भएकाले विदेशमा बसोबास गर्ने र अन्तर्राष्ट्रिय सङ्घसंस्थामा काम गर्नेले यो पर्व विश्वभर मनाउने गर्छन् ।
ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ को बिदाइ र नयाँ वर्ष को स्वागतमा विश्वभर विभिन्न कार्यक्रहरुको आयोजना गरी नयाँ वर्ष मनाइँदै छ ।
नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन छ । पर्यटकको भीड भाड हुने नेपालको राजधानी काठमाडौंको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘ न्यू इयर इभ ’ का नाममा यो संवत् मनाइन्छ ।
नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ ।
नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बंगलादेशको ढाका, काश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।
विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् ।
यो दिन नेपाल र नेपालबाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धुमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन् । यो लहरसँगै पछिल्लो समय नेपाली टोपी लगाउनेको सङ्ख्या बढिरहेको छ ।
प्रतिकृया दिनुहोस