ज्योतिषले निकालेको साइतमा सरकारी निवासमा सरे प्रचण्ड, छोरीले बुझिन् चाबी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारी निवास बालुवाटारमा सरेका छन् । प्रधानमन्त्रीमा शपथ लिएको तेस्रो दिन दाहाल ज्योतिषले निकालेको साइतअनुसार पूजापाठसमेत गरेर बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका हुन् ।
बुधबार साँझ प्रधानमन्त्री दाहाल सरकारी निवासमा गृहप्रवेश गरेको उनको सचिवालयले जनाएको छ । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार विहानमात्र बालुवाटारबाट भाडाको घरमा सरेका थिए ।
डेढ वर्षअघि माओवादी केन्द्रकै समर्थनमा प्रधानमन्त्री बनेका देउवा अहिले फेरि प्रधानमन्त्री बन्नेमा आशावादी थिए । यही बीचमा उनको बुढानिलकण्ठस्थित निजी निवास मर्मत सम्भारको काम प्रारम्भ भएको थियो । तर, अचानक बालुवाटार छोड्नुपर्ने भएपछि धुम्बाराहीमा घर खोजेर डेरा सरेका हुन् ।
आइतबार प्रधानमन्त्रीमा नियुक्त दाहालले सोमबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनियताको शपथग्रहण गरेका थिए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहाल देशको ४४ औं प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको चाबी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले बुझेकी छन् । उनलाई शहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले बालुवाटारको चाबी हस्तान्तरण गरेका हुन् । ज्याेतिषी टिकाराम घिमिरेले जुराएकाे साइत अनुसार बुधबार पाँच बजे सरिसक्नुपर्ने भए पनि उनी एक घन्टा ढिलाेगरी प्रवेश गरेका थिए ।
सरकारी निवासहरु शहरी विकास मन्त्रालय मातहतमा पर्छ । प्रधानमन्त्रीलाई नै चाबी हस्तान्तरण गर्न पदीय मर्यादा नमिल्ने हुनाले प्रधानमन्त्रीका परिवारका सदस्यलाई दिने प्रचलन रहेको एक अधिकारीले जानकारी दिए ।
आइतबार प्रधानमन्त्रीमा नियुक्त दाहालले सोमबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनियताको शपथग्रहण गरेका थिए । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहाल देशको ४४ औं प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनको यो तेस्रो कार्यकाल हो ।
कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन टुटाउँदै एमालेसहित ७ दलीय समीकरण बनाएर दाहाल आइतबार प्रधानमन्त्री बनेका हुन् । प्रतिनिधिसभाका २७५ मध्ये एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६, नागरिक उन्मुक्तिका ४ र स्वतन्त्र ३ गरी १६९ सांसदको समर्थनमा दाहाल प्रधानमन्त्री बनेका हुन् ।
प्रतिकृया दिनुहोस